अर्थ

आनको १८ औं साधारण सभाः अध्यक्षमा रिजाल निर्विरोध

आनको १८ अाै‌ वार्षिक साधारणसभा उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत ।

काठमाडौ– सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमाध्यममा क्लिन फिड नीति लागू गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । गत साउन १ गते देखिनै लागू गर्ने तयारी भएपनि तयारी नपुगेको भन्दै त्यतिबेला रोकिएको थियो । क्लिन फिडले नेपाली विज्ञापन व्यवसायलाई अझै परिस्कृत गर्ने बताउँदै मन्त्री बस्नेतले सवैसँग छलफल गरेर अघि बढ्ने पनि प्रतिवद्धता व्यक्त गरे । 

नेपाल विज्ञापन संघको १८ औँ बार्षिक साधारण सभाको बिहीवार  काठमाडौमा उद्घाटन गर्दै मन्त्री बस्नेतले विज्ञापन व्यवसायलाई उद्योगको रुपमा विकास गर्न सरकार लागि पर्ने बताए । 

कार्यक्रममा नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले अहिले ६ अर्बको विज्ञापन व्यवसाय रहेको तथ्य प्रस्तुत गर्दै क्लिन फिड लागू भए यो दोव्वरले वृद्धि हुने दृष्टान्त प्रस्तुत गरे । श्रेष्ठले नेपाली चलचित्र उद्योग भन्दा ठूलो राशीको विज्ञापन व्यवसाय भएपनि यसलाई सरकारले उद्योगको मान्यता नदिएको तर्फ ध्यानाकर्षण गराए । 

विज्ञापन संघका संस्थापक अध्यक्ष वशिंधर पौडेलले राष्ट्रिय विज्ञापन नीति तयार भएपनि अहिलेसम्म लागू नहुनु दुःखद विषय भएको टिप्पणी गरे ।आनका पूर्व अध्यक्ष भाषकरराज राजकर्णिकारले अहिलेको समयमा विज्ञापन विना कुनैपनि कुरा अपुरोहुने तर्क गरे । उनले देशको कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य भूमिका खेल्ने विज्ञापन व्यवसायका मार्फत नै देशको आर्थिक हैसियत मापन हुने हुँदा त्यसतर्फ गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका मेहश स्वाँरले संचार माध्यमको वलियो आधारनै विज्ञापन रहेको बताउँदै यसको विकासमा सवै लाग्नुपर्नेमा जोड दिए । नेपाल प्रसारक संघ बानका उपाध्यक्ष रमेश पौडेलले आनसँग मिलेर साझा एजेण्डामा अघि बढ्न आफूहरु तयार रहेको प्रतिवद्धता जनाए । 

रिजालको नेतृत्वमा नयाँ कार्य समिति
आनको नयाँ अध्यक्षमा कि एडभरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक रविन्द्रकुमार रिजाल ‘शशी’ सर्वसम्मत रुपमा चयन हुनेभएका छन् । केही दिनअघि भएको उम्मेदवारी दर्तामा अन्य कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध हुनलागेका हुन् । तर यसको औपाचारिक घोषणा भने आजकै साधारण सभाबाट हुनेछ ।

आगामी ३ बर्षे कार्यकालका लागि अध्यक्षमा रिजाल सहित बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिबमा राजु कुइँकेल, सचिबमा कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा पंकज प्रधानको मात्रै उम्मेदवारी परेको छ । यस्तै, ६ जना सदस्यहरुमा रोधन प्रसाई, रमेश पुरी, विशालपुरुष ढकाल, अरुणकाजी स्थापित, किरण गैरे र सन्तोष खड्काको मात्रै उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा भने दुई जनाको दाबी भएपछि सहमतिको प्रयास भैरहेको नेपाल विज्ञापन संघले जनाएको छ । कोषाध्यक्ष पदमा पिताम्बर पोखरेल ‘विजय’ र यमुना पौडेल ‘प्रतिमा’ ले उम्मेदवारी दिएका छन् । 

प्रकाशित: २७ पुस २०७४ ०९:३९ बिहीबार

आनको १८ औं साधारण सभाः अध्यक्षमा रिजाल निर्विरोध