अर्थ

हयात होटेलको युनियनमा बामगठबन्धन विजयी

काठमाडौं- काठमाडौं वौद्धस्थित हयात रिजेन्सी काठमाडौंको आधिकारिक ट्रेड युनियनमा अखिल नेपाल होटेल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ विजयी भएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मजदुर संगठनको साझा उम्मेदवारको रुपमा संघले प्रतिस्पर्धा गरेको थियो । संघले कूल खसेको २ सय ९९ मत मध्य २ सय १३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल पर्यटन होटेल, क्यासिनो तथा रेष्टुरेन्ट श्रमिक संघले ८० मत प्राप्त गरेको थियो ।

एक वर्षअघि भएको चुनावमा सो संघ निर्विरोध निर्वाचित भएको थियो । संघको अध्यक्ष मुक्ति दाहाल छन् । विजयीपछि दाहालले नयाँ श्रम ऐनमा प्रावधान रहेको भन्दै मजदुरको सुविधा कटौति गर्ने व्यवस्थापन तयारीका  विरुद्ध संघर्ष गर्ने बताए।

'व्यवस्थापक र ट्रेड युनियनबीच सामुहिक सौदावाजीमा भएको सम्झौताहरुलाई अक्षरस कार्यान्वयन गराउन पहल हुनेछ' दाहालले भने, 'मजदुर आवासको रकम परिचालनका लागि विनियम बनाउन पहल गरिनेछ।'

सो होटलको मजदुर आवासको कोषमा १६  करोड रुपैया जम्मा भएको छ । पछिल्लो समयमा तारागाउँ रिजेन्सी होटल लिमिटेड र तारागाउँ विकास समितिबीच देखिएको द्वन्द्वमा समाधानका लागि युनियनले मध्यस्था गर्ने दाहालले बताए ।

 

प्रकाशित: २७ पुस २०७४ ०४:३५ बिहीबार

हयात होटेलको युनियनमा बामगठबन्धन