अर्थ

एयरबसको इन्जिन फेर्न १ अर्ब खर्चनुपर्ने

काठमाडौं – नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्न युरोपको एयरबस कम्पनीसँग खरिद गरेको एउटा जहाजमा एकथान इन्जिनका लागि १ अर्ब रुपैयाँहाराहारी खर्च गर्नुपर्ने भएको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग २०७१ माघ २५ गते खरिद गरी ल्याइएको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको एकथान जहाजको बायाँ इन्जिनले पूर्णरूपमा काम गर्न छाडेपछि नयाँ वा ‘सेकेन्ड ह्यान्ड’ इन्जिन फेर्न निगमले उक्त परिमाणबराबरको रकम खर्च गर्नुपर्ने भएको हो ।

जहाज किनेको तीन वर्षमै एकथान इन्जिनले काम गरेन

कलसाइन ‘९एन–एकेडब्लु’ भएको निगमको उक्त जहाज नियमित तालिकाअनुसार पुस १० गते भारतको नयाँदिल्ली गएको थियो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि जहाजको बायाँ इन्जिनमा समस्या उत्पन्न भएको थियो । निगमका इन्जिनियरहरूले धेरै प्रयास गर्दा पनि काम नगरेपछि इन्जिन फेर्नैपर्ने निष्कर्ष निस्किएको छ ।

‘जहाज नयाँ भए पनि इन्जिनले काम गरेन, त्यसकारण नयाँ वा सेकेन्ड ह्यान्ड जुन भेटिन्छ त्यही इन्जिन फेर्नैपर्छ,’ निगमका एक उच्च अधिकारीले बुधबार नागरिकसँग भने, ‘वर्तमान बजारभाउ अनुसार एकथान इन्जिनका लागि नयाँ भए १ करोड अमेरिकी डलर (१ अर्ब रुपैयाँ) र सेकेन्ड ह्यान्ड भए ६० लाख डलर (६० करोड रुपैयाँ) खर्च लाग्ने भयो ।’
सम्बद्ध अधिकारीका अनुसार उक्त जहाजमा अमेरिकी इन्जिन निर्माता कम्पनी ‘इन्टरनेसनल एरो इन्जिन’ (आइएई) का दुईथान इन्जिन छन् । जहाज एयरबसले निर्माण गरे पनि इन्जिन आइएईका हुन् । जहाज खरिद गर्दा जति मूल्य पर्छ, त्यसको ८० प्रतिशत हिस्सा दुईथान इन्जिनले ओगट्ने गर्छ ।

‘अहिले नयाँदिल्लीमा ग्राउन्डेड भएको जहाजका दुईथान इन्जिनको ‘वारेन्टी’ अवधि पनि समाप्त भइसकेको छ,’ ती अधिकारीले भने, ‘त्यो जहाजको इन्जिनको वारेन्टी अवधि ७ हजार घन्टा उडान समयबराबर थियो । वारेन्टी बाँकी भएको भए आइएईले मर्मत गरेर तोकिएको समयमै दिन्थ्यो ।’

तर, निगम व्यवस्थापनलाई अहिले उक्त जहाजको बिग्रिएको इन्जिन मर्मत गर्न कहाँ लैजाने भन्ने गम्भीर समस्या आइलागेको छ । दिल्ली विमानस्थलमै मर्मत गर्न नसकिने भएपछि इन्जिन झिकेर मर्मत गर्न लैजान सकेको छैन । त्यसमाथि आइएई वा अन्य मर्मत कम्पनीले न्यूनतम ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताएपछि निगम झन् समस्यामा परेको हो ।

‘त्यही भएर अर्को सेकन्ड ह्यान्ड इन्जिन खोजी गर्दै जाँदा चीनको बेइजिङस्थित आइएईको शाखा कार्यालयले एकथान इन्जिन दिन सक्ने जानकारी दिएको छ,’ अर्का एक अधिकारीले भने, ‘तर, हामीलाई रकम जोहो गर्ने समस्या छ । त्यो इन्जिनका लागि कम्तिमा ६० करोड रुपैयाँ चाहिने छ । तर, आइएईले भाडामा पनि दिनसक्ने भनेका कारण त्यतातिर लागेका छौं ।’

उनका अनुसार आफ्नो जहाजको इन्जिन पूर्णमर्मत नभएसम्म भाडाको इन्जिनबाट जहाज उडाउने प्रस्ताव निगम सञ्चालक समितिमा पेस भए पनि हालसम्म अनुमोदन भएको छैन । ‘भाडामा पाइयो भने प्रतिमहिना औसत २ करोड रुपैयाँ तिर्नुपर्छ,’ उनले भने, ‘त्यसकारण सकेसम्म चाँडै आफ्नै इन्जिन मर्मत गर्नुपर्छ र यसका लागि मर्मत कम्पनीको खोजी भइरहेको छ ।’

दिल्ली विमानस्थलबाट इन्जिन झिकेर अन्यत्र लैजान समस्या भएपछि निगम इन्जिनियरिङ विभागका निर्देशक केबी थापा तथा विभागकै अधिकारीद्वय प्रभाष कर्माचार्य र विक्रम केसी बुधबार दिल्ली गएका छन् । भारतको सरकारी वायुसेवा कम्पनी एयर इन्डियाले इन्जिन मर्मत गरिदिन सक्ने ‘आश्वासन’ पाएपछि निगम टोली उता गएको हो ।
निगमले पुस १० गते बिहान ८ बजे एयरबस एकेडब्लुबाट काठमाडौं–नयाँदिल्ली उडान गरेको थियो । दिल्लीबाट फर्किएपछि त्यही जहाजबाट बिहान ११ बजे बैंकक जाने तालिका थियो ।

दिल्लीबाट फर्किने जहाजमा बैंकक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ३५ यात्रु तयार भएर बसेका थिए । तर, ११ बजे उड्ने भनेको जहाज दिल्लीबाटै फर्किएन । एक घन्टा, दुई घन्टा गर्दै यात्रुले विमानस्थलमा १३ घन्टा कुरेपछि निगमकै अर्को जहाजबाट बल्ल मध्यरात १२ बजे बैंकक उड्न पाएका थिए ।

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमताको ‘बि७५७–२००’ सिरिजको एकथान तथा दुईथान ए३२० जहाज छन् । तीन जहाजबाट निगमले भारत, कतार, थाइल्यान्ड, मलेसिया, युएई र हङकङका आठ गन्तव्यमा उडान गरिरहेको छ ।

उसले भारतका नयाँदिल्लीका लागि सातामा सात, मुम्बई र बैंगलोर तीन–तीन तथा युएईको दुबईका लागि सातामा चार उडान गरिरहेको छ । त्यसैगरी कतारको दोहा, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, र हङकङ प्रत्येक गन्तव्यका लागि सातामा तीन–तीन उडान गरिरहेको छ । एकथान ए३२० थन्किएपछि निगमले केही गन्तव्यका उडान संख्या कटौती गरेको छ ।

 

प्रकाशित: २७ पुस २०७४ ०२:२४ बिहीबार

एयरबसको इन्जिन फेर्न अर्ब खर्चनुपर्ने