अर्थ

लेखाले माग्यो एनसेल सेयर विक्रीको कागजात

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद–बिक्रीबारे कागजात मगाएको छ। एनसेलको शेयर खरिद–बिक्रीको सूचना सार्वजनिक भएलगत्तै समितिले आइतबार आन्तरिक छलफल गरेको छ। समितिले सरोकारवाला निकायहरूसँग यससम्बन्धी कागजात माग गर्दै पत्र पठाएको छ।

एनसेलबाट बाहिरिन लागेको आजियाटाको ८० प्रतिशत सेयर सतिशलाल आचार्यले खरिद गरेका छन्। एनसेलबाट आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियाटा र आचार्यबीच सेयर खरिदबिक्रीको सहमति भएको हो। आजियाटाले आचार्यको स्पेकट्रलाइट युके लिमिटेडलाई ८० प्रतिशत सेयर बिक्री गरेको हो। आजियाटाले एक विज्ञप्ति जारी गर्दै सेयर बिक्री गरेको र नेपालबाट बाहिरिएको बताएको हो। आजिएटाले कुल ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड रुपैयाँमा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको सहमतिबिना सेयर खरिद बिक्री नहुने भएपनि यी दुई कम्पनीबिच सेयर खरिद बिक्रीको सहमति भएको हो।

एनसेलमा लगानी गरेका विदेशी कम्पनीहरूको शेयर खरिद–बिक्रीको विवरण सार्वजनिक भएको छ, यो खरिद–बिक्री प्रक्रिया र विधिसम्मत हो कि होइन? भन्ने विषयमा लेखा समितिले अध्ययन गरी राजस्व र करमा के कस्तो असर हुन्छ भनेर पत्र पठाएको स्रोतले बतायो। समितिले हक हस्तान्तरणबारे अध्ययन विश्लेषण गरेर सत्यतथ्यपूर्ण विवरण पठाउनु भनी नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ।

प्रकाशित: १७ मंसिर २०८० १३:४६ आइतबार

प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति एनसेल