अर्थ

पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

पर्यटकीय सिजन सकिएसँगै सुनसान बनेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने नाम्चे ।

सोलुखुम्बु – सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय जाडो छल्न काठमाडौं लगायत विभिन्न जिल्ला जान थालेका छन् । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा तथा दृश्यावलोकन गर्ने स्थल सुनसान बनेको छ ।

 मध्य सिजनमा एकैपटक पर्यटक आगमन हुँदा सेवा दिन समेत धौधौ बनेका होटल व्यवसायी अहिले होटल बन्द गरेर काठमाडौं लगायत अन्यत्र गइसकेका छन् । अधिकांश व्यवसायी तथा स्थानीयले खुम्बु छोडिसकेको लुक्लाका स्थानीय तोया श्रेष्ठले बताए । ‘सिजन पनि सकियो, अहिले पर्यटक पनि खुम्बु आउँदैनन्,’ उनले भने, ‘व्यवसायी पनि जाडो छल्न अन्यत्र लागीसकेका छन् ।’ 

पर्यटकीय सिजन सकिन थालेसँगै जिल्लाको खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङला, ठाङनाक एवं थामे लगायत क्षेत्रका स्थानीय जाडो छल्न बाहिर जान थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने र अब करिब चैत मध्यसम्म हिउँ पर्ने भएकाले जाडो छल्नका लागि बाहिर जानुपर्ने बाध्यता सथनीयको छ । जाडो छल्नका लागि धेरैजसो काठमाडौं गएको खुम्जुङका स्थानीय पेम्बा शेर्पाले बताए । 

तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सीधै काठमाडौंसम्म हवाइ सेवाको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीयको पहिलो रोजाइ काठमाडौं भएको छ । त्यस्तै जाडो महिनामा खुम्बु क्षेत्रका मानिस तीर्थधाम समेत जाने गरेका छन्  । विदेशी रहनसहन र चालचलनले प्रभाव पारेको खुम्बु क्षेत्रका स्थानीय पछिल्लो समय नेपाल लगायत विश्वका केही देश घुम्न जाने गरेका छन् । 

क्रिसमस डेको समाप्तिसँगै पर्यटन सिजन पनि सकिएकाले यहाँका स्थानीय अन्यत्र लागेका हुन् । सिजन सकिएसँगै अधिकांश स्थानीय हिडिसकेकाले खुम्बु क्षेत्र सुनसान बनेको छ । अत्यधिक चिसो हुने भएकाले यहाँका मानिस मुस्किलले वर्षमा ६ महिनामात्र बसोबास गर्छन् ।

उच्च हिमाली क्षेत्र भएकाले खासगरी पर्यटन सिजनमा मात्र उनीहरु बस्दै आएका छन् । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चेलगायत गोक्यो, चोला पास, कालापत्थर, एभरेस्ट बेस क्याम्प लगायत अहिले पर्यटकको चहलपहल छैन । 

 

प्रकाशित: २४ पुस २०७४ ०४:४२ सोमबार

पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान