अर्थ

मूल्य बढेसँगै ग्राहकको रोजाइमा सुनको कम तौलका गहना

फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकड बनाएको छ। निरन्तर सुनको मूल्य वृद्धि हुने क्रम नरोकिँदा बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। 

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। विवाह सिजन सुरु भएसंगै सुनको मूल्य आकासिन पुग्दा ग्राहक मर्कामा परेका छन्।

नेपाल सुनचाँदी महासंघका अध्यक्ष मणिकरत्न शाक्य नेपालमा सुनको मूल्य बढ्नु कारणहरुमा रसिया र युक्रेन युद्ध, प्यालेस्टाइन र हमासबीच जारी तनावका साथै अमेरिका र चीनबीचको व्यापार प्रतिस्पर्धा भएको बताउँछन्।  सुनको मूल्यवृद्धि र आर्थिक मन्दिले सुनचाँदीको व्यापारमा कमी आएको बताउँदै शाक्यले नेपालमा सरदर   दैनिक ३० देखि ३५ केजी सुनको व्यापार हुने गरेको बताए। तर, अहिले त्यो दर घटेर दैनिक २० केजी मात्र व्यापार भइरहेको भन्दै उनले भने,‘ग्राहकहरूले बजेट बढाउनु भएको छैन, सुन खरिद कम गर्नुभएको छ। पहिला ५ लाखले सुन अलि धेरै आउँथ्यो भने अहिले त्यो रकमले कम आउँछ।’

महासङ्घकै प्रवक्ता मनोज शाह पनि सुनको मूल्यवृद्धि भएसँगै व्यापारमा कमी आएको बताए। मूल्यवृद्धि हुनुको प्रमुख कारण पछिल्लो समय चीनको केन्द्रीय बैङ्कले सुन मौज्दात राख्नु भएको बताउँछन्। चीनको केन्द्रीय बैङ्कले १७.६ टन सुन बैंकमा मौज्दात राख्ने निर्णय गरेको र त्यसले अन्य बैकहरुले पनि मौज्दात राख्ने सम्भावना रहेको हुँदा मूल्यवृद्धि भएको उनले बताए।

सुनचाँदी संघ ललितपुरका अध्यक्ष सुविन बज्राचार्य गहनाका मंसिर महिना लागे पनि सुनको कारोबारमा भने कमी आएको बताए। ‘मंसिर महिना विवाहको महिना हो। विवाहमा सुन अनिवार्य नै चाहिन्छ भन्ने प्रचलन छ। तर सुनको मूल्य वृद्धि भएसँगै कारोबार पनि घटेको छ। नभई नहुँने खालको गहनाहरूको भने अडर आउँछ,’ उनले भने।

अहिले सुनको गहनाहरु बनाएर राखौँ भन्ने खालका ग्राहकहरू भेट्न मुस्किल भएको उनको भनाइ छ। बनाउनै पर्ने गहना मात्र ग्राहकहरूले बनाउने गरेको उनले बताए। आफ्नो पसलमा दैनिक १० देखि १२ तोलासम्मको मात्र अर्डर आउने गरेको शाक्यले बताए।

ग्राहकहरूले सुनबाट बनेका कम तौलका गहनाहरु बढी माग गर्न थालेको शाक्यको भनाइ छ। ‘सुनबाट मात्र बनेका गहना भन्दा पनि सुनबाटै बनेका तर कम तौलका गहनाहरु ग्राहकहरूले धेरै खोजिरहेका छन्। त्यसमा बाहिर देखाउनका लागि सुन र त्यसभित्र सामग्रीहरू राखेर बनाइएको छ। अहिले ग्राहकहरूले त्यस्तै गहनाहरु खोजेको पाइन्छ,’ उनले भने।

कालीगढ एवं सुनको होलसेलर दिपेन्द्र शाक्य मंसिर लागे पनि सुनको व्यापार नभएको बताउँछन्। पहिलाको तुलनामा ७० प्रतिशत भन्दा कम व्यापार रहेको शाक्य बताउँछन्। सामान्यतया महिनाको १ केजी सुनको व्यापार गर्ने गरेपनि अहिले १ केजी सुन व्यापार गर्न २, तीन महिना लाग्ने उनको भनाइ छ। 

‘पहिला एक महिनामा १ केजी सुन व्यापार गर्ने गरेको थिए। अहिले त्यही एक केजी सुन व्यापार गर्न २, ३ महिना लाग्छ,’ उनले भने,‘मंसिर लागेपछि अलिअलि व्यापार भएको छ तर पहिलाको तुलनामा भएको छैन। पहिला मंसिर लाग्ने बित्तिकै दिनरात हामी गहना बनाउन लाग्थ्यौँ तर अहिले गहना बनाउने अर्डर नै छैन।’ 

प्रकाशित: १३ मंसिर २०८० ०८:५३ बुधबार

सुनको मूल्य