वीरगञ्ज– भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा मध्यतराईका पर्सा, बारा र रौतहट जिल्लाको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइने गहुँखेती प्रभावित भएको छ ।
पर्सामा ३९ हजार हेक्टर, बारामा २९ हजार हेक्टर तथा रौतहटमा १५ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गर्दै आएका छन् । साउनको अन्तिम साता आएको अविरल वर्षाका कारण बाढी पहिरोले भारतीय क्षेत्रमा रहेको गण्डक नहरको संरचना क्षतिग्रस्त भएपछि भारतीय पक्षले उक्त संरचना समयमा मर्मतसम्भार गर्न नसक्दा पानी नहरमा छाड्न नसकेकाले यो स्थिति आएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले बताए ।
नेपाल–भारतबीच भएको गण्डक नहर सम्झौताअनुसार भारतीय पक्षले यही पुसको १० गतेभित्र गण्डक नहरमा पानी छोडिसक्नुपर्नेमा क्षतिग्रस्त संरचनाको हालसम्म मर्मतसम्भार नहुँदा अहिलेसम्म नहरमा पानी छोड्न नसक्दा किसानले हालसम्म गहुँखेती लगाउन नसकिएको डिभिजन प्रमुख साहको भनाइ छ ।
यस वर्ष पानीको अभावमा पर्सा, बारा, रौतहट जिल्लामा २५ देखि ३० प्रतिशत गहुँ खेती प्रभावित हुने सम्बन्धित जिल्लाका जिल्ला कृषि विकास कार्यालयको भनाइ रहेको छ । गण्डक नहरमा पानी नछोड्दा पर्सा जिल्लामा यस वर्ष ३० प्रतिशत गहुँखेती प्रभावित हुने जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वीरेन्द्रप्रसाद सिंहाको भनाइ छ । पानीको अभावमा यही स्थिति बारा र रौतहट जिल्लामा समेत रहेको छ ।
गण्डक नहरमा पानी नआएपछि कतिपय ठाउँमा साना सिँचाइबाट किसानले गहुँखेती शुरु गरेको छ । गण्डक नहरबाट पर्सा, बारा तथा रौतहट जिल्लामा ३७ हजार हेक्टर पानी छाड्ने गरिन्छ तर यस वर्ष साउन महिनाको अन्तिम सातामा आएको बाढीबाट भारतीय पक्षतर्फ रहेको नहर करिब १०० किलोमिटर क्षेत्रमा टुटेको र हालसम्म प्रयाप्त मात्रामा मर्मतसम्भार हुन नसक्दा यस्तो अवस्था आएको भारतीय पक्षको भनाइलाई उद्द्धृत गर्दै नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले बताएको छ ।
सो बाढीले नेपालतर्फ गण्डक नहरमा करिब तीन दर्जन ठाउँमा क्षति पुर्ंयाउँदा रु ७५ करोड बराबरको संरचना क्षतिग्रस्त भए पनि नेपाल पक्षले भत्केको आफ्नो पक्षको संरचना समयमै मर्मतसम्भार गरे पनि भारतीय पक्षले आफ्नोतर्फको संरचना हालसम्म पूर्णरुपमा बनाउन नसक्दा नहरमा पानी छाड्न नसकिएको हो ।
नेपालतर्फ ८१ किमी लामो गण्डक नहरको चार दशकको लामो इतिहासमा पहिलोपल्ट साउन अन्तिम साता आएको बाढीले सर्वाधिकरुपमा नहरमा क्षति पुर्याएको थियो । भारतीय भूमि हुँदै गण्डक नहरको पानी पर्साको जानकी टोलाबाट शुरु भई बारा हुँदै रौतहटको वाग्मती नदीमा मिसिन्छ ।
भारत सरकारले निर्माण गरेको सो नहर सन् २०७६ ताका दुई चरणमा गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नदीमा ८५० क्युसेक पानी छोड्नु पर्ने भए पनि भारतीय पक्षले सम्झौताअनुसारको पानी भने दिन सकेको छैन ।
अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटमा पानीको अभावमा गहुँखेती प्रभावित भएपछि यस वर्ष गहुँ उत्पादनमा कमी आउने अनुमान कृषि विज्ञहरुको छ । क्षतिग्रस्त भारततर्फको गण्डक नदीमा भारतीय पक्षले चाँडो मर्मतसम्भार गरी पानी छोड्नु पर्नेमा किसानको छ । (रासस/ वीरेन्द्र कर्ण)
प्रकाशित: २१ पुस २०७४ ११:०५ शुक्रबार