अर्थ

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

काठमाडौं– औद्योगिक प्रवद्र्धनलाई विशेष प्राथमिकतासहित सञ्चालनमा ल्याउन लागिएको विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना गरिएका उद्योग सञ्चालनार्थ आवश्यक ऊर्जा उपलब्ध हुने भएको छ ।

सेजमा उद्योग सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा ऐन तयार भए पनि विद्युत्को व्यवस्था नहुँदा मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा सञ्चालनमा आउन सकेको छैन । एक महिनाभित्र भैरहवा सेजका लागि आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणसँग सहमति भएको उद्योग सचिव यामकुमारी खतिवडाले जानकारी दिए । 
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा आयोजना गरेको उद्योग तथा व्यापार नीतिसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उद्योग सचिव खतिवडाले भनिन्, ‘अबको एक महिनाभित्र भैरहवा सेजमा आवश्यपर्ने विद्युत् उपलब्ध हुन्छ ।’

भैरहवा सेजमा सञ्चालन हुने उद्योगहरू सञ्चालनका लागि उद्योग मन्त्रालयले नियमितरूपमा २० मेगावाट विद्युत् आवश्यक पर्नेछ । पहिलो चरणमा विद्युत् प्राधिकरणले सात मेगावाट उपलब्ध गराउने जनाएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले २२ भन्दा बढी औद्योगिक प्रस्तावलाई सञ्चानका लागि स्वीकृत दिइसकेको छ ।  तुलनात्मक लाभ हुने क्षेत्रलाई केन्द्रित गरी  स्थापना हुने उद्योगलाई कानूनअनुसार अधिकतम सहुलियत दिने नीति सरकारको रहेको बताउँदै उद्योग सचिव खतिवडाले आर्थिक क्षेत्रसँग सम्बन्धित ऐन तथा नीतिमा रहेका विषय एकअर्कामा बाझिएकाले समस्या आउने गरेको स्वीकार गरिन् । 

प्रकाशित: २० पुस २०७४ ०१:३७ बिहीबार

महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने