अर्थ

बृज सिमेन्टले आर्थिक शोषण गरेको आरोप

टीकापुर– केडिया अर्गनाइजेसन अन्तर्गतको बृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले आर्थिक शोषण गरेको डिलरहरुले आरोप लगाएका छन् । कम्पनीले मागअनुसार सामान नदिने, बैंक ग्यारेन्टी रोक्ने, न्यून बिलमा कारोबार गर्न दबाब दिने, कर्मचारीमार्फत कमिसन माग गर्ने गरेको डिलरको आरोप छ । 

सुदूरपश्चिमका लागि आधिकारिक बिक्रेता टीकापुरस्थित एलिना ट्रेडर्सले पत्रकार सम्मेलन गरेर हिसाबकिताब सबै चुक्ता भइसक्दा पनि कम्पनीले सबडिलरको बैंक ग्यारेन्टी रोकेर राखेको बताएको छ ।  कम्पनीले कैलालीको बौनियास्थित एक तुही निरंकार ट्रेडर्सको सिद्धार्थ बैंकको २० लाखको बैैंक ग्यारेन्टी रोकेर राखेको बताइएको छ । सञ्चालक संगीत कुँवरले बारम्बार बैंक ग्यारेन्टी फुकुवाका लागि आग्रह गर्दा बेवास्ता गर्ने गरेको गुनासो गरे । 

उनले एलिना ट्रेडर्समार्फत कम्पनीको बृज सिमेन्ट बिक्री गर्र्दै आएका थिए । कारोबारमा समस्या आएपछि उनले साउनयता कम्पनीको सिमेन्ट बेच्न छोडेका छन् । आफू मातहतमा काम गर्न छोडेपछि कुँवरले दिएको बैंक ग्यारेन्टी फुकुवा गरिदिन बारम्बार कम्पनीलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको एलिना ट्रेडर्सका सञ्चालक सुवोध रेग्मीले बताए । 
‘मैले धेरैपटक बैंक ग्यारेन्टी फुकुवा गरिदिन भन्दै आएको छु,’ उनले भने, ‘उल्टै मलाई बारम्बार पैसामात्रै जम्मा गर्न लगाउँछ ।’

रेग्मीका अनुसार सुरुमा २० लाख रुपैयाँ जम्मा गरे बैंक ग्यारेन्टी फुकुवा गरिदिने भनिएको थियो । त्यसयता रेग्मीले पटकपटक गरी ८० लाख ४६ हजार रुपैयाँ कम्पनीका नाममा जम्मा गरिसकेको बताए । उनले कम्पनीका मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेलले व्यक्तिगत रुपमा रकम माग गर्ने गरेको जानकारी दिए । यस वर्षको कमिसन नदिएका कारण पौडेलले दुःख दिनका लागि यस्तो समस्या खडा गरेको हुन सक्ने रेग्मीको भनाइ छ । उनले अघिल्लो वर्ष पौडेलले कमिसन बापत आफूसँग १२ लाख रुपैयाँ लगेको बताए ।

‘यो वर्ष समयमा सामान नदिएपछि मैले घाटा बेहोर्नु प¥यो । त्यसकारण कमिसन दिएन । त्यसैको बदला लिन यस्तो समस्या सिर्जना गरेको हो,’ उनले भने, ‘आफ्नो नाममा रकम माग गर्नुको कारण अरु के हुनसक्छ ?’
म्यानेजर पौडेलले एलिना ट्रेडर्सले कम्पनीमा ठूलो रकम तिर्न बाँकी रहेको बताए । उनले सञ्चालक रेग्मीका नाममा अझै १ करोड ३० लाख उधारो रहेको बताए । कुँवरसँगको कारोबार रेग्मीमार्फत भएकाले हिसाबकिताब गर्न बाँकी रहेको पौडेलको भनाइ छ । 
‘उनी हाम्रो डिलर हैनन् । एलिनामार्फत सामान बेचेका हुन् । उनको हिसाब के छ हेर्नै बाँकी छ,’ उनले भने, ‘कम्पनीले सम्बन्ध बिगार्न चाहेको छैन । व्यापारीलाई अप्ठेरोमा पार्ने कम्पनीको मनसाय पनि होइन ।’
कुँवरले भने सबडिलर भए पनि आफूले कम्पनीका आधिकारिक व्यक्तिसँग नै कारोबार गर्दै आएको दाबी गरेका छन् । उनले म्यानेजर पौडेलसँगै आफ्नो लेनदेन हुने गरेको बताए ।
कम्पनीले एलिना ट्रेडर्सलाई करिब ४ करोड बराबरको उधारो दिन सक्ने सम्झौता रहेको सञ्चालक रेग्मीको भनाइ छ । उनले सम्पूर्ण उधारोको जिम्मेवारी आफू लिन्छु र मातहतका सबडिलरको बैंक ग्यारेन्टी फुकुवा गर भन्दा पनि कम्पनीले अटेर गरेको बताए । व्यवसायी कुँवरले कम्पनीका कारण आफ्नो सबै व्यापार व्यवसाय धरापमा पर्ने खतरा बढेको दुखेसो पोखे । उनले अरु कम्पनीसँग कारोबार गर्दा बैंक ग्यारेन्टी दिन नपाएर आर्थिक समस्या भइरहेको बताए । 

प्रकाशित: २० पुस २०७४ ०१:३३ बिहीबार

बृज सिमेन्टले आर्थिक शोषण गरेको आरोप