अर्थ

औद्योगीक प्रदर्शनीमा दुई करोडको कारोबार

काठमाडौं– फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजनामा गरेको १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी करिब साढे दुई करोडको कारोबार भएको छ । प्रदर्शनी एक हप्तासम्म भृकुटीमण्डपमा चलेको थियो । 
मेला संयोजक नानिराज घिमिरेका अनुसार यस वर्षको प्रदर्शनी ७५ हजार दर्शकले अवलोकन गरेका छन् । मेला समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले मुलुकमा स–साना घरेलु उद्योगलाई संरक्षण गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशी उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकेमात्र देशमा आर्थिक विकास हुने बताए ।  कार्यक्रममा एसोसिएसनका अध्यक्ष रविनकुमार श्रेष्ठले जुत्ता उद्योगमा भित्रिएको विकृतिलाई सामूहिक रुपमा छलफल गरी न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । वर्षैभरि जुत्ता मेला लगाउने प्रवृत्ति गलत भएकाले यस्ले व्यवसायीलाई थप समस्या हुने उनको भनाइ थियो । यसका लागि एसोसिएसनले नयाँ ढंगले कार्यविधि बनाएर काम गर्न व्यवसायीबीच एकता आवश्यक भएको बताए । 

कार्यक्रममा गुणस्तरीय उत्पादनका आधारमा कोसेली सुज, एनबी फुटवेयर र ह्युम्यान फिट लेदर क्राफ्टलाई बेस्ट प्रडक्टको अवार्ड प्रदान गरिएको थियो । प्रदर्शनीमा स्वदेशी छाला जुत्ता तथा वस्तु उत्पादकको सहभागिता थियो । 
प्रदर्शनीमा नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको एक सय ३५ स्टल थिए । प्रदर्शनीमा सर्वसाधारणदेखि सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पूर्वमन्त्री समेतले अवलोकन गरेका थिए । प्रदर्शनीको मुख्य आकर्षणको रुपमा स्वदेशमै गरिएको रबर खेती एवं उत्पादन तथा अपांगमैत्री जुत्ता थिए ।  प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघको समेत सहयोग थियो । 

 

प्रकाशित: २० पुस २०७४ ०१:१७ बिहीबार

औद्योगीक प्रदर्शनीमा दुई करोडको कारोबार