अर्थ

वैशाखमा घरेलु उद्योग महोत्सव

काठमाडौं– नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी वैशाखमा ‘नेपाल १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना गर्ने जनाएको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख १४ गतेदेखि १८ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा प्रदर्शनीको गर्न लागेको महासंघको विज्ञप्तिमा उल्लेख छ । 
महोत्सवका लागि ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकामा गर्व गरौं, र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ नारा तय गरेको र देशभरका सबै जिल्लाका उद्यमीको सहभागिता रहने महासंघले जनाएको छ । महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश, चीनका व्यवसायीको पनि सहभागिता रहने महासंघले जनाएको छ । अढाइ सय स्टल रहने मेला पाँच दिनसम्म चल्ने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने महासंघले जनाएको छ । 

महोत्सवमा पाँच करोडभन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने महासंघको अनुमान छ । 
प्रदर्शनीको सहआयोजकमा उद्योग मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला तथा बालबालिका मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम र विज्ञान तथा प्रविधि मन्त्रालय रहने छन् ।

 

प्रकाशित: १८ पुस २०७४ ०१:४९ मंगलबार

वैशाखमा घरेलु उद्योग महोत्सव