अर्थ

अनुदानको मल अपुग भएपछि गैरअनुदानको मल बिक्री

काठमाडौं– अनुदानको रासायनिक मलले बजारको माग धान्न नसकेपछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी)ले गैरअनुदानको मल बिक्री सुरु गरेको छ । सरकारी अनुदानको युरिया, डिएपी, पोटासले मात्र किसानको आवश्यकता परिपूर्ति नभएपछि कर्पोरेसनले सरकारको अनुमतिमा बहुतत्वयुक्त एल्मोनियम सल्फेट र सिंंगल सुपर फस्पेट बिक्री गर्न थालेको हो । यी दुई मलमा भने सरकारको अनुदान छैन ।

नेपालमा वार्षिक पाँच लाख टन मलको आवश्यकता भएपनि करिब तीन लाख टनमात्र अनुदानको मल बिक्री हुन्छ । बजारमा अपुग भएको दुई लाख मलमध्ये केही हिस्सा बिक्री गरेर किसानलाई सघाउ पु¥याउने योजना बनाएको कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् । ‘विगतमा सरकारको निर्देशन अनुसार अनुदानको मल बिक्री गर्दै आएका थियौं,’ श्रेष्ठले सोमबार आयोजित पत्रकार भेटघाटमा भनिन्, ‘रासायनिक मलको पूरकको रुपमा थप दुई मल बिक्री थालेका हौं ।’

सरकारले अनुदान दिइरहेका युरिया, डिएपी, पोटासको प्रयोगले मात्र माटोको अम्लियपन बढेर उत्पादनमा ह्रास भएकाले सल्फर, क्याल्सियम, फस्फोरस, जिंक, बोरन लागयतका सहायक र सुक्ष्म तत्व दिने मललाई पनि प्राथमिकता दिएको कर्पोरेसनले जनाएको छ । युरिया, डिएपी प्रयोग नगरेर एल्मोनियम सल्फेट र सिंंगल सुपर फस्पेट प्रयोग गर्नसक्ने कृषिविज्ञ भगवान खतिवडाले बताए । ‘रासायनिक मलको सन्तुलित प्रयोग गर्नुपर्छ,’ खतिवडाले भने, ‘यी मलको प्रयोगले माटोको गुणस्तरमा ह्रास आउन दिँदैन ।’

युरियामा पाइने नाइट्रोजनको करिब २१ प्रतिशत मात्रा एल्मोनियम फस्फेटमा पाइन्छ । युरियाको साटो फस्फेटमा प्रयोग गर्न सकिन्छ । सिंगल सुपर फस्पेटमा २१ प्रतिशत क्याल्सियम, १२ प्रतिशत सल्फर लगायत विभिन्न तत्व पाइन्छ । डिएपीको साटो सिंगल सुपर फस्पेट प्रयोग गर्न सकिन्छ । ‘अहिलेसम्म रासायनिक मल भनेकी युरिया, डिएपी भन्ने बुझाइ छ,’ खतिवडाले भने, ‘ती मलले दिने तत्व अन्य मलबाट पनि उपलब्ध हुन्छ ।’

मूल्य पनि तुलनात्मक रुपमा सस्तो भएको कर्पोरेसनले जनाएको छ । कर्पोरेसनले भारत र कोरिया लगायत मलुकबाट मल ल्याएको हो । एल्मोनिमय सल्फेट किलोको १८ रुपैयाँ र सिंगल सुपर फस्फेट २६ रुपैयाँ ५० पैसा किलोमा बिक्री गरिरहेको कर्पोरेसनले जनाएको छ । 

यी मल तेलहन वालीको लागि अनिवार्य रहेको खतिवडाले बताए । ‘पोटास प्रयोग नगरे अन्य मलले काम गर्दैन,’ खतिवडाले भने, ‘त्यसैगरी युरिया र डिएपीमात्र नभई अन्य मल पनि प्रयोग गर्नुपर्छ ।’  कर्पोरेसले यो वर्ष करिब २० हजार टन एल्मोनियम सल्फेट र सिंंगल सुपर फस्पेट बिक्री गर्ने लक्ष्य लिएको छ । कर्पोरेसलने देशभरका आफ्ना डिपो मार्फत वितरणको व्यवस्था मिलाएको छ ।

विगतमा मलमात्र बेच्दै आएको कर्पोरेसलने अहिले किसानलाई रासायनिक मल प्रयोगका फाइदा बेफाइदा, मल प्रयोगको मात्राको बारेमा समेत अभिमुखिकरण सुरु गरेको छ ।  तराई र पहाडका करिब ११ जिल्लामा प्रशिक्षण गरिसकेको छ । ‘व्यवसायिकमात्र नभएर सामाजिक दायित्व पनि पूरा गरेका छौं,’ कार्यकारी अधिकृत श्रेष्ठले भनिन्, ‘देशभर यो अभियानलाई जारी राख्छौं ।’

नेपालमा सरकारले युरिया, डिएपी र पोटासको लागि मात्र यो वर्ष करिब चार अर्ब ८८ करोड अनुदान दिएको छ । त्यसबाट करिब तीन लाख टनमात्र मल किसानले पाउने गरेका छन् । अनुदानको मल ३० प्रतिशत कर्पोरेस र ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेडले बिक्री गर्दै आएको छ । युरिया प्रति किलो १४ रुपैयाँ, डिएपी ४३ रुपैयाँ र पोटास ३१ रुपैयाँ किलोमा बिक्री भैरहेको कर्पोरेसनले जनाएको छ । सरकारले अनुदान दिएकाले यी मल सस्तोमा बिक्री भएका हुन् ।
 

 

 

प्रकाशित: १८ पुस २०७४ ०१:४७ मंगलबार

अनुदानको मल अपुग भएपछि गैरअनुदानको मल बिक्री