अर्थ

चार महिनामा २७ सय ८७ चार पाङग्रे विद्युतीय गाडी भित्रियो

फाइल तस्बिर

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा २७ सय ८७ वटा चार पाङग्रे विद्युतीय सवारीसाधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा मात्रै ६ अर्ब ८३ करोड रुपैयाँको २७ सय ८७ वटा विद्युतीय सवारीसाधन आयात भएका हुन्। चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ६ सय ५५ वटा चार पाङग्रे विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्।

चालु आवको तीन महिनासम्मको अवधिमा भने २१ सय ३२ वटा विद्युतीय सवारीसाधन आयात भएको थियो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५० किलोवाट क्षमताका १२ सय ७९ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। ति सवारीसाधन आयात गर्दा दुई अर्ब ३९ करोड रुपैयाँ खर्च भएको छ।

चालु आवकै चार महिनाको अवधिमा ५१ किलोवाट देखि एक सय किलोवाट क्षमताका १४ सय ८१ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्। ति सवारीसाधन आयात गर्दा चार अर्ब ३० करोड ३२ लाख रुपैयाँ बराबरको आयात भएको हो। चालु आवको साउनदेखि कार्तिक सम्मको अवधिमा १०१ किलोवाट देखि २ सय किलोवाट क्षमताका १७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। ति सवारीसाधन आयात गर्न मुलुकबाट ६ करोड ६५ लाख रुपैयाँ खर्चिएको छ।

त्यसैगरी चालु आवको चार महिनाकै अवधिमा २ सय १ किलोवाट क्षमताभन्दा माथिका १० वटा सवारीसाधन आयात भएका छन्। ति सवारीसाधन ६ करोड ८७ लाख रुपैयाँको आयात गरिएको हो।

प्रकाशित: ८ मंसिर २०८० ०८:५६ शुक्रबार

चार पाङग्रे विद्युतीय सवारीसाधन