अर्थ

किन आर्थिक सहायता खोज्दैनन् मनाङ र मुस्ताङका युवा ?

काठमाडौं– बेरोजगार तथा आर्थिक रूपले विपन्न युवालाई सहयोग गर्न सुरु गरिएको कार्यक्रमका लागि देशका सबै जिल्लाबाट धमाधम माग आइरहँदा मनाङ र मुस्ताङमा भने वर्षौंदेखि आर्थिक सहयोग लिने युवायुवती फेला परेका छैनन् । 

युवा स्वरोजगार कोषले ७५ जिल्लाकै बेरोजगार र आर्थिक रूपमा विपन्न युवालाई उद्यम गर्न बिनाधितो दुई लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । देशका सबै जिल्लाबाट धमाधम आर्थिक सहयोगका लागि माग आइरहँदा मनाङ र मुस्ताङका युवायुवतीले कुनै वास्ता नगरेपछि किन यस्तो भइरहेको छ भन्दै कोषका कर्मचारी नै अलमलमा परेका छन् ।

दाताले उपलब्ध गराउने स–सानो सहयोग लिन मरिहत्ते गर्ने प्रचलन व्याप्त रहेको बेला मनाङ र मुस्ताङका युवायुवतीलाई सरकारी सहयोगप्रति चासो नहुनु पछाडिका कारणबारे विज्ञका फरक फरक धारणा पाइन्छन् । 
कोषले हरेक जिल्लाका सहकारीलाई रकम उपलब्ध गराउने र तिनै सहकारीले गाउँमा उद्यम गर्न इच्छुक युवायुवतीलाई बिनाधितो दुई लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।

कतिपय व्यक्ति कोषले सहकारीमार्फत गाउँका युवायुवतीलाई ऋण उपलब्ध गराउँदा लम्बेतान प्रक्रिया अपनाएकाले दुर्गम भेकमा बस्ने युवायुवतीलाई चासो नभएको हुन सक्ने अनुमान लगाउँछन् । कतिपय व्यक्ति कोषले लगानी गर्ने रकम  (दुई लाख रुपैयाँसम्म) दुर्गमका लागि निकै थोरै हुने भएकाले पनि मनाङ र मुस्ताङबाट माग नआएको हुन सक्ने ठान्छन् । कतिपय भने कोषले सूचना प्रणाली कमजोर भएकाले दुर्गमका युवायुवतीले जानकारी नपाएको हुन सक्ने ठान्छन् । 

‘प्रत्येक जिल्लाका बेरोजगार युवायुवतीलाई जानकारी होस् भनेर सक्दो प्रचारप्रसार गरिरहेका छौं,’ कोषकी अनुसन्धान तथा कार्यक्रम पवद्र्धन तथा सूचना प्रविधि शाखा प्रमुख सम्झना भट्टराई वाग्लेले भनिन्, ‘सबै जिल्लाबाट आर्थिक सहयोगका लागि माग आइरहँदा मनाङ र मुस्ताङबाट कुनै चासो नआउँदा अचम्मित छौं । एउटै खाले सूचनाले अन्य दुई जिल्लाबाहेक अन्यत्रबाट भने धमाधम माग आइरहेको छ ।’ 

बेरोजगार युवायुवतीलाई कोषले उपलब्ध गराउने रकम थोरै भएका कारण मनाङ र मुस्ताङबाट माग नआएको हुन सक्ने कतिपयले अनुमान गरे पनि सम्पन्नताको दृष्टिकोणले ती दुई जिल्ला अन्यभन्दा पछि रहेकाले त्यस्तो अनुमान गलत हुने कोषका कर्मचारी बताउँछन् । ‘आर्थिक रूपले सम्पन्न मानिएका अन्य जिल्लाबाट आर्थिक सहयोगका लागि माग आउनु तर मनाङ र मुस्ताङबाट पटकपटक बेवास्ता भइरहेपछि अब किन त्यस्तो भइरहेको छ भनेर अध्ययन हुनुपर्ने देखिन्छ,’ वाग्लेले भनिन् । 
वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै रोकी उद्यमशील हुन प्रेरित गर्ने तथा राज्यको स्रोत, साधनमा पहुँच पु¥याउन नसक्ने वर्गलाई लगानी गर्ने उद्देश्यका साथ कोषले आर्थिक ०६८/६९ मा कार्यक्रम सुरु गरेको थियो । मनाङ र मुस्ताङबाट सुरुदेखि नै सहयोगका लागि माग नआएको उनले बताइन् । 

हाल कोषले बढीमा ४२ महिनाभित्र चुक्ता गर्ने गरी सहकारीमार्फत युवायुवतीलाई उद्यम गर्न प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको छ । कोषले सहकारीसँग वार्षिक ५ प्रतिशत ब्याज लिने गरेको छ भने सहकारीले सोही रकम बेरोजगार युवायुवतीलाई १० प्रतिशत ब्याजमा लगानी गर्ने गरेका छन् । ऋण लिएका युवायुवतीले तोकिएको समयभित्र ऋण चुक्ता गरेको खण्डमा कोषले ब्याजमा ६० प्रतिशत छुट दिने गरेको छ । 

कोषले १८ देखि ५० वर्षका उमेर समूहका व्यक्तिलाई बिनाधितो ऋण उपलब्ध गराउने गरेको छ । वाग्लेका अनुसार कोषले एक सहकारीलाई ५० देखि ७५ लाख रुपैयाँसम्म रकम उपलब्ध गराइरहेको छ । हाल देशभरिका ६ सय २४ सहकारीले कोषबाट रकम लिएका छन् । आर्थिक वर्ष ०७३/७४ मा कोषले विभिन्न सहकारीमा १ अर्ब ९ करोड ३९ लाख रुपैयाँ लगानी गरेको जनाएको छ ।

२०६८ मा अर्थ मन्त्रालय लगायत विभिन्न बैंकबाट गरी ३ अर्ब ५२ करोड रुपैयाँ प्राप्त गरेको कोषसँग हाल पुँजी वृद्धि भएर पाँच अर्ब रुपैयाँभन्दा बढी पुगेको वाग्लेले बताइन् । उनले  कोषले ५० हजार युवायुवतीलाई स्वरोजगार बनाउने लक्ष्य लिएको दाबी गरिन् ।  हाल कोषले वर्षमा १० हजार युवायुवतीलाई स्वरोजगार बनाइरहेको उनको भनाइ छ । 

प्रकाशित: १६ पुस २०७४ ०२:१८ आइतबार

किन आर्थिक सहायता खोज्दैनन् मनाङ मुस्ताङका युवा