अर्थ

कात्तिकमा झन्डै ८० हजार पाहुनाले मुस्ताङ घुमे

पाहुना लिएर मुस्ताङ उक्लेका सवारी। कात्तिक महिनामा मुस्ताङमा आन्तरिक र बाह्य गरि झन्डै ८० हजार पाहुना गएका छन्। तस्बिर सौजन्यः विजय केसी

कात्तिक महिनामा मात्र हिमालपारिको जिल्ला मुस्ताङमा झन्डै ८० हजार पाहुना पुगेका छन्। ती मध्ये ७३ हजार ८ सय ७९ जना आन्तरिक र ५५ सय ४ जना विदेशी पाहुना रहेको मुस्ताङ प्रहरीले बताएको छ। सबैगरि ७९ हजार ३ सय ८३ जना पाहुना मुस्ताङ पुगेको प्रहरीको तथ्यांक रहेको छ।

चाँडबाँडको लामो बिदा पारेर हिमालपारिको जिल्ला मुस्ताङ घुम्न जाने आन्तरिक पाहुनाका कारण महिनाभर हिमाली जिल्ला मुस्ताङको चहलपहल निकै नै बढेको प्रहरीले जनाएको छ। पर्यटकीय सिजन भएकोले विदेशी पाहुना पनि जाँदा मुस्ताङ कात्तिक महिनाभर पर्यटनमय बनेको प्रहरीको भनाई छ।  

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार मुस्ताङ गएका विदेशी मध्ये भारतीय पाहुना पनि थिए। ‘चाँडबाँडको कारण लामो बिदाको मौका पारेर यो वर्ष ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटक मुस्ताङ घुम्न आए,’ पाण्डेले भने, ‘महिनाभर नै मुस्ताङ पर्यटनले चलायमान बन्यो।’ दसैं र तिहारको लामो बिदा परेका कारण आन्तरिक पाहुनाको ठूलो संख्या मुस्ताङ पुगेको उनले बताए।  

डिएसपी पाण्डेका अनुसार मुस्ताङमा कात्तिकभर १३ हजार ९ सय १ वटा गाडी गएका थिए। ती गाडी चढेर पाहुना घुम्न मुस्ताङ पुगेका थिए। मुस्ताङ पुगेका सवारी मध्ये ६ हजार ४ सय ८ वटा मोटरसाइकल, ६ हजार २ सय ८९ कार–जीप तथा ७ सय ५० वटा बसमार्फत ती पाहुना मुस्ताङ पुगेका थिए। दिनको चारवटा बस जोमसोमबाट पोखराका लागि नियमित चल्ने भएपनि ती सवारी पनि गणना भएको उनले बताए।  

‘सवारी  व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको थियो,’ उनले भने, ‘यतिधेरै पाहुना आए की कात्तिक महिनाभर यहाँको पर्यटन क्षेत्र चम्केको थियो।’ सिजनका कारण यहीबेला पोखरा–जोमसोम हवाई सेवा पनि संचालन भएकोले हवाईमाध्यम मार्फत पनि पाहुना भित्रिएको उनले बताए। जिल्ला भित्रिएका पाहुनाको तथ्यांक राख्नेगरि प्रहरीले मुस्ताङ प्रवेशको एकमात्र नाका घाँसामा टिम नै खटाएको छ। प्रहरीले जिल्ला प्रवेशका सबै सवारी चेक गरेर यात्रु गणना गरेर रेकर्ड नै राख्ने गरेको उनले बताए। डिएसपी पाण्डेले मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ र अर्ध निषेधित क्षेत्र उक्लने पाहुनालाई सचेत गराउने गरि डिजिटल प्रणालिको सूचना बोर्ड राख्ने तयारी गरेको पनि जानकारी दिए।

मुस्ताङको मुक्तिनाथ क्षेत्रका पर्यटन व्यावसायी सुरज गुरुङ पनि योपटक हिमाली जिल्ला मुस्ताङले ठूलो आकारमा आन्तरिक र बाह्य पाहुना पाएको बताए। उनका अनुसार दसैं र तिहारको बिदाले गर्दा पाहुना आगमन निकै नै थियो। ‘हुन त पोहोर पनि पाहुना आएकै हुन्। तर, पोहोर भन्दा यो पटकको आगमन अझै बढी थियो। एकमहिना भरि जिल्लामा पाहुना अभाव भएनन,’ उनले भने।  

‘आन्तरिक पाहुनाको पनि सिजन नै हो । त्यसबाहेक विदेशी पाहुना आउने मुख्य सिजन भएकोले पनि यो बेला एकमहिना पर्यटन क्षेत्र व्यस्त बन्यो,’ उनले भने। उनका अनुसार यतिबेला भने पाहुना केही कम भएका छन्। ‘अब अफसिजन सुरु भएको छ। पाहुना केही घटेका छन्। नत्र अघिल्लो महिना त हामी सबैलाई व्यस्त बनायो,’ मुक्तिनाथ मन्दिर नजिकै होटल संचालन गरिरहेका गुरुङले भने, ‘पाहुना आगमन उत्साहजनक हुँदा व्यावसाय चलायमान बन्यो।’

पोखराबाट पर्यटक समूहलाई मुस्ताङ घुमाउँदै आएका पर्यटन व्यावसायी विजय केसीका अनुसार कात्तिक महिनामा आन्तरिक पाहुनाको यतिसम्म भीड थियो की एउटै समूहमा ३ सय जनासम्म पनि पाहुना पुगेका थिए। 

‘मुस्ताङ जाने नितान्त पर्यटन उद्देश्यले हो। धार्मिक र साहसिक पर्यटनले मुस्ताङले पाहुना तानेको छ,’ केसीले भने, ‘आन्तरिक पाहुनामा घुमफिरको संस्कार यति विकास भएको छ की समूहमा पाहुना घुम्न गएका थिए। कात्तिक महिनाभर मुस्ताङ पाहुनाले भरिभराउ थियो।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत प्रमोद रेग्मीले पनि यो बेला पाहुना आगमन निकै नै बढेको बताए। आन्तरिक पाहुनाको आगमन निकै नै राम्रो रहेको उनले बताए। विशेष गरि आन्तरिक पाहुना बढी आउँदा कात्तिक महिनाभर मुस्ताङ चलायमान बनेको उनले बताए। थोराङला भञ्ज्याङ पार गरेर र तिलिचो घुमेर मुस्ताङ झर्ने तथा उपल्लो मुस्ताङ घुम्न आउने पाहुना अधिक रहेको उनले बताए।  

‘२÷३ दिन अघि नै होटल बुकिङ नगरि आउँदा त पर्यटकलाई बासको पनि समस्या थियो। सवारी चल्न थालेको र पहुँच सहज बन्दै जाँदा पर्यटन आगमन बढेको हो,’उनले भने, ‘आन्तरिक पाहुनाको घुम्ने ट्रेन्डले पनि महिनादिनसम्म मुस्ताङका होटल खालि रहेनन।’

प्रकाशित: ७ मंसिर २०८० १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App