मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा सुधार ल्याउने उपाय बारेमा आज छलफल गर्ने भएका छन्। प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत आर्थिक क्षेत्रसँग सम्बन्धित सरकारी निकायका अधिकारीसँग अपरान्ह ४ बजे छलफल गर्न लागेका हुन्।
अर्थतन्त्रको अवस्था के छ, कसरी सुधार गर्न सकिन्छ भनेर सरकारी निकायका अधिकारीलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।बैठकमा प्रधानमन्त्रीले अर्थ मन्त्रालय लगायतका निकायबाट अहिले मुलुकको आर्थिक अवस्थाको बारेमा जानकारी लिनुका साथै के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने कार्यक्रम छ।
अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर दाहालले विभिन्न निकायसँग छलफल गर्दै आएका छन्।मुलुकको अर्थतन्त्रमा केही सूचकहरु सुधार भए पनि बजारमा आम उपभोक्ता,उद्योगी, व्यवसायीले त्यसको अनुभुती गर्न सकेका छैनन्।
नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको आर्थिक बहस कार्यक्रममा आर्थिक क्षेत्रका समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउने प्रधानमन्त्री दाहालले प्रतिवद्धता जनाएका थिए।
यता महासंघले आफ्ना सदस्यसँग विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ।महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत महासङ्घले सुझाव मागेको हो।
महासङ्घको तेस्रो कार्यकारिणी बैठकले प्रस्ताव गरेअनुसार विद्यमान आर्थिक सङ्घटको समाधानका उपाय खोज्ने क्रममा गत असोज २५ गते सरोकारवाला सबै सम्मिलित राष्ट्रिय आर्थिक बहस सम्पन्न गरेको थियो।काठमाडौँमा सम्पन्न सो बैठकमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीले अध्यक्षता गर्ने गरी उच्चस्तरीय संयन्त्र गठनका लागि सरकारसमक्ष माग अघि सारेका थिए।उक्त प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयन्त्र गठन गरी अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएका थिए।
विद्यमान व्यावसायिक अवस्था र आगामी दिनमा चाल्नुपर्ने कदमका लागि महासङ्घले जिल्ला उद्योग वाणिज्य सङ्घसँग आवश्यक सुझाव र परामर्शका लागि सर्कुलर जारी गरेको महासङ्घले जनाएको छ।महासङ्घले सर्कुलरमार्फत विद्यमान आर्थिक अवस्थाको सुधार र निजी क्षेत्रमैत्री दिगो आर्थिक विकासका लागि सबै महासङ्घ सदस्यलाई सल्लाह, सुझाव भए उपलब्ध गराउन अनुरोध गरेको छ।
प्रकाशित: ४ मंसिर २०८० ०५:४० सोमबार