ठेक्का लागेको ६ वर्षकाे अवधि पूरा हुँदा समेत तमोर नदी माथि (लिम्बूनी पुल नजिक) निर्माण हुने भनिएको पक्की पुल बन्ने सुरसार नभएपछि जनदबाब बढाउन थालिएको छ।
पाँचथरको हिलिहाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जोड्ने पुल निर्माणका लागि ठेक्का लिएको कम्पनीले काम नगरेपछि स्थानीय जनप्रतिनिधि र प्रशासनले दबाब बढाएका हुन्।
आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) को नेतृत्वमा जनप्रतिनिधिको टोली र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरुको टोलीले पुल निर्माणको प्रगति अवलोकन गरेको छ।
‘प्रगति ज्यादै न्यून छ, लामो समय देखि काम नै भएको छैन’ आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष पोमूले भने। उनले जिम्मा लिएको काम पूरा गर्न निर्माण कम्पनीलाई पटक–पटक तागेता गर्दा पनि वास्ता नगरेकोले अन्तिम प्रयास स्वरुप तीव्र जनदबाब बढाइएको बताए।
यो अवस्था कायम रहँदा ताप्लेजुङ, पाँचथर र तेह्रथुम गरी तीन जिल्ला जोड्ने सडक समृद्धि नै रोकिएको उनले बताए। पुल नबन्दा तमोर करिडोर समेत ओझेलमा परेकोले निर्माण कम्पनीलाई तत्कालै काममा फर्काउने वातावरण तयार गर्न आवश्यक रहेको उनको भनाई छ।
निर्माण कम्पनीलाई काममा फर्काउन पाँचथरको हिलिहाङ गाउँपालिका सहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका जनप्रतिनिधिहरुको संयुक्त पहल सुरु हुने पोमूले बताए।
निर्माणको जिम्मेवारी लिएको कम्पनीप्रति लक्षित गर्दै पोमूले भने ‘जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ, कामबाट भाग्न कसैले पाउँदैन’।
प्रमुख जिल्ला अधिकारी पौडेलले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नहुने बताइन्। ‘यहाँको भूगोल र अवस्थाको बारेमा छलफल हुन सक्छ, तर लिएको जिम्मेवारीबाट पन्छिन मिल्दैन’ पौडेलले भनिन्।
पुल निर्माण हुने क्षेत्रको एकातर्फको भाग पाँचथरको आङ्बुङतर्फ माथिबाट पहिरो समेत झर्न थालेपछि त्यसको व्यवस्थापन सहितको चिन्ता पौडेलमा थियो।
वारिपट्टि पाँचथरको आङ्वुहाङ, पारीपट्टि ताप्लेजुङको निघुरादिन हुँदै तेह्रथमुको ह्वाकुतर्फ प्रवेश गर्ने स्थल यहीँ हो। पक्की पुल नहुँदा अहिले आङ्बुङ र निघुरादिन प्रवेश मार्गमा पक्की पुल बन्ने स्थान नजिक रहेको झोलुङ्गे पुल माध्यम बनेको छ।
आङ्बुङवारी निघुरादिनतर्फबाट दोभानसम्म जाने गरी तमोर करिडोरको सडकको ट्याक ओपन भएको छ। आङ्बुङतर्फ समेत तमोर कोरिडोर आईपुगेपनि पक्की पुलको अभावका कारण वारी–पारी सडक सञ्जाल जोडिएको छैन।
तमोर कोरिडोर नेपाल, भारत र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने नेपालकै छोटो मार्गको रुपमा परिचित छ।
‘यहीँ पक्की पुल निर्माण अभावले हामी र हाम्रो भाग्यमा अवरोध सृजना गरेको छ’ आठराई त्रिवेणी गाउँपालिका वडा नं-१ निघुरादिनका वडाध्यक्ष रामप्रसाद पाठकले भने।
२०७४ साल फागुन ६ गते (भ्याट र पिएस सहित) २२ करोड ५ लाख ७७ हजार ८ सय ९० रुपैयाँमा सम्झौता भएको एम.एस.सपना.याक्थुङ जेभी काठमाडौँसँग पुल निर्माणका लागि सम्झौता भएको थियो।
सम्झौता पछि निर्माण कम्पनीले निघुरादिनतर्फबाट पुलको बेस उठाउने र बीचमा एउटा पिलरको काम गरे पनि अरू काम गरेको देखिदैंन।
यता निर्माण कम्पनीका एक प्रतिनिधि पाँचथर निवासी तेज कुरुम्बाङलाई सम्पर्क गर्दा उनको फोन उठेन।
पालिका अध्यक्ष पोमूले भने तीनै वटै जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनले निर्माण कम्पनीसँग छलफल गरी पुल निर्माणको काम तत्काल अघि बढाउन दबाब दिने गरी संयुक्त छलफल गर्ने संकेत गरेका छन्।
प्रकाशित: ३ मंसिर २०८० ०७:३४ आइतबार