अर्थ

काठमाडौं–ग्वान्जाओ उडानमा चीन सकारात्मक

काठमाडौं- काठमाडौं–ग्वान्जाओ सीधा हवाई सेवा सञ्चालन गर्न चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले नेपालमा थप लगानी गर्न र काठमाडौं–ग्वान्जाओ हवाई सेवा सञ्चालन गर्न सकिने बताएको हो ।
चीनको ग्वान्जाओ प्रान्तका भाइस नर्भनर चेन युन्छिएनको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले नेपालको कृषि, पर्यटन, पर्वाधार विकासमा लगानी गर्न र काठमाडौं–ग्वान्जाओ सीधा हवाई सेवा सञ्चालन गर्न सकिने बताएको छ । प्रान्तका सरकारी र निजी क्षेत्रका प्रतिनिधिसहितको टोली पुस १ देखि ४ गतेसम्म नेपालको भ्रमणमा थियो ।
भ्रमणका क्रममा नेपालका सरकारका प्रतिनिधि, निजी क्षेत्र लगायतसँग भेटघाट तथा छलफल भएको वाणिज्य मन्त्रालयले जनाएको छ । उक्त भ्रमणमा चिनियाँ टोलीले नेपालमा थप लगानी गर्ने र आर्थिक विकासमा सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेको मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा पुस ३ गते दुईपक्षीय छलफल भएको थियो । उक्त छलफलमा वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नेतृत्वमा नेपाल सरकारका पदाधिकारी, निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र ग्वान्जाओ प्रान्तका प्रतिनिधिबीच द्विपक्षीय व्यापार, पूर्वाधार विकास, लगानी तथा अन्य अपसी हितका विषयमा छलफल भएको थियो ।
छलफलमा चीनका प्रतिनिधिले ग्वान्जाओ प्रान्त चीनको आर्थिक केन्द्रको रुपमा रहेको भन्दै नेपालको कृषि, पर्यटन, पूर्वाधार विकास, काठमाडौं ग्वान्जाओ सिधा हवाई सेवा सम्पर्क र लगानीमा सहयोग विस्तार गर्न सकिने धारणा राखेका थिए ।
छलफलमा नेपाल सरकारका अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, ग्वान्जाओ प्रान्तका अधिकारी, त्यहाँका निजी क्षेत्रका प्रतिनिधिका साथै नेपालस्थित चिनियाँ राजदूतवासका उच्च अधिकारी समेत सहभागी रहेको मन्त्रालयले जनाएको छ ।
छलफलमा सचिव घिमिरेले नेपाल र चीनबीच व्यापार र पारवहनका क्षेत्रमा भएका सम्झौता र समझदारीबारे जानकारी गराएका थिए ।
छलफलका क्रममा सचिव घिमिरेले नेपाल ग्वान्जाओ प्रान्तबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन नेपाल र चीनको सीमा नाकामा ड्राइपोर्ट निर्माण, पूर्वाधार विकास, बजार पहुँच, व्यापारिक मेलाहरूमा थप सहयोगमार्फत निर्यात प्रवद्र्धन गर्न आग्रह गरे । त्यसैगरी, सचिव घिमिरेले नेपालमा प्रदर्शनीस्थल निर्माणमा सहयोग गर्न, ग्वान्जाउमा कन्टेनर फ्रेट स्टेसन निर्माणका लागि स्थल उपलब्ध गराउन, नेपालका तुलनात्मक लाभका वस्तुको उत्पादन र सेवा क्षेत्रमा लगानी अभिवृद्धि गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, सचिव घिमिरेले नयाँ संविधान जारी भएको, वाणिज्य नीति २०७२, विदेशी लगानी नीति २०७१, औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐन लगायत नयाँ ऐन, नियम आएको जानकारी गराए । उनले यस्ता नीतिगत तथा कानुनी व्यवस्थाबाट लगानी अनुकूल वातावरण सिर्जना भएको र हालै नयाँ संविधान अन्तर्गत स्थानीय, प्रदेश र संघीय तहका निर्वाचन सम्पन्न गरिसकेकाले आगामी दिनमा राजनीतिक स्थायित्व हुने विश्वास व्यक्त गरे । राजनीतिक स्थायित्वबाट व्यावसायिक वातावरणमा थप सुधार हुने भन्दै उनले लगानी बढाउन चिनियाँलाई आग्रह गरे ।

प्रकाशित: ९ पुस २०७४ ०३:३० आइतबार

काठमाडौं–ग्वान्जाओ उडानमा चीन