अर्थ

उखु किसानलाई चलान पुर्जी वितरण

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग ।

सर्लाही–सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले शनिबारदेखि किसानलाई उखु ल्याउने चलान पुर्जी वितरण गरेको छ । चिनी उद्योगपति र किसान नेताबीच भएको सहमतिअनुसार उद्योग सञ्चालनका लागि किसानलाई चलान पुर्जी वितरण गरिएको इन्दुशंकर चिनी उद्योग हरिवनका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । 
गत बिहीबार उद्योगपति र किसान नेताबीच बसेको दोस्रो बैठकले हाललाई गत वर्षको मूल्य कायम गरेर तत्काल उद्योग सञ्चालन गर्ने र माघको दोस्रो साता पुनः अर्को बैठक बसेर नयाँ मूल्य निर्धारण गर्ने सहमति गरेको थियो ।
आगामी मंगलबारदेखि उद्योग सञ्चालनको तयारी थालिएको उखु प्रबन्धक रजकले जानकारी दिए । ‘आजबाट किसानलाई चलान पुर्जी वितरण सुरु ग¥यौं,’ शनिबार नागरिकसँग रजकले भने, ‘मंगलबारदेखि उद्योग चलाउन सुरु गर्छौं ।’
चालू सिजनमा ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको इन्दुशंकर चिनी उद्योग व्यवस्थापनले जनाएको छ । उक्त उद्योगले गत वर्ष २६ लाख १७ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । 
मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा २०४२ मा स्थापित इन्दुशंकर बाहेक पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिल पनि तीन वर्षदेखि सञ्चालमा छ । अन्नपूर्णले भने ११ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो । त्यस्तै दक्षिणी क्षेत्र बगदहमा पनि अर्को उद्योग यसै वर्षबाट सञ्चालनको तयारीमा छ ।
उखु खेतमै सुक्ने तथा उखु उल्टाएर अर्को बाली लगाउन समस्या भइरहेकाले गत वर्षकै मूल्यलाई आधार मानेर तत्काल उद्योग सञ्चालन गर्ने सहमति गरिएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ २० पैसा थियो । 
‘अहिलेलाई गत वर्षकै मूल्यलाई आधार मान्ने र माघको दोस्रो सातामा पुनः बैठक राखेर नयाँ मूल्य तय गर्ने सहमति भएको छ,’ अध्यक्ष मैनालीले भने, ‘हामीले कम्तिमा प्रतिक्विन्टल पाँच सय ६२ रुपैयाँ हुनुपर्छ भनेका छौं ।’

 

प्रकाशित: २ पुस २०७४ ०२:३५ आइतबार

उखु किसानलाई चलान पुर्जी वितरण