अर्थ

रेमिट्यान्समा कीर्तिमान: असोजमा १ खर्ब ३७ अर्ब भित्रियो

चालु आर्थिक वर्षको असोजमा १ खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले असोजमा हालसम्मै उच्च अर्थात् कीर्तिमानी रकम रेमिट्यान्सबापत पठाएका हुन्।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको तथ्यांकमा आधारित) प्रतिवेदनअनुसार चालु आवको तीन महिनाको अवधिमा ३ खर्ब ६५ अर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौको तुलनामा असोजमा रेमिट्यान्स २० अर्बभन्दा धेरै भित्रिएको छ।

नेपालीहरूको महान् पर्व दसैं कात्तिकको पहिलो साता भए पनि विदेशीमा रहेका नेपालीले दसैं खर्चबापतको रकम असोजमा पठाएकाले पनि रेमिट्यान्सबापत उच्च रकम भित्रिएको हो।

नेपाल राष्ट्र बैंकअनुसार चालु आवको साउनमा १ खर्ब १६ अर्ब र भदौमा १ खर्ब १४ अर्ब रूपैयाँ रेमिट्यान्स आएको थियो। तर असोजमा भने अन्य दुई महिनाको तुलनामा २० अर्बभन्दा धेरै रकम रेमिट्यान्स स्वदेशमा आएको छ। राष्ट्रबैंकको प्रतिवेदनले पनि आव २०७९/८० को तीन महिनाको अवधिमा भन्दा चालु आवको तीन महिनाको अवधिमा रेमिट्यान्स ३० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रूपैयाँ पुगेको जनाएको छ।

‘अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १६.८ प्रतिशतले बढेको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर चालु आवको तीन महिनाको अवधिमा भने ३० प्रतिशतले बढेको छ।’ नेपाल आएको रेमिट्यान्स नेपाली रूपैयाँ मात्रै होइन, अमेरिकी डलरमा पनि वृद्धि भएको छ।

चालु आवको तीन महिनाको अवधिमा अमेरिकी डलरमा पनि रेमिट्यान्स २५.९ प्रतिशतले वृद्धि भएर २ अर्ब ७६ करोड अमेरिकी डलर पुगेको छ। यद्यपि गत आवमा भने अमेरिकी डलरमा रेमिट्यान्स भने ७.९ प्रतिशतले बढेको थियो। राष्ट्रबैंकका अनुसार चालु खाता एवं शोधनान्तर स्थिति पनि चालु आवको तीन महिनाको अवधिमा ५९ अर्ब ९ करोड रूपैयाँ बचतमा छ। गत आवको सोही अवधिमा भने चालु खाता एवं शोधनान्तर खाता ३५ अर्ब २४ करोड रूपैयाँ घाटामा थियो।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा थियो। चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा छ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनियम सञ्चिति २०८० असार मसान्तसम्मको अवधिमा १५ अर्ब ३९ अर्ब ३६ करोड रूपैयाँ थियो। तर चालु आवको तीन महिनाको अवधिमा विदेशी विनियम सञ्चिति ६.७ प्रतिशतले बढेर असोज मसान्तमा १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८० असार मसान्तसम्मको अवधिमा अमेरिकी डलरमा विदेशी विनियम सञ्चिति ११ अर्ब ७१ करोड थियो। तर असोज मसान्तसम्मको अवधिमा भने ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखाएको छ। २०८० असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३०.५ प्रतिशत, ८५.७ प्रतिशत र २६.० प्रतिशत छन्। २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत थिए।

यसैगरी मुलुकमा विदेशी विनिमय सञ्चितिमा क्रमशः सुधार हुँदै आएको छ। विगतमा विदेशी मुद्रा सञ्चितिमा भारी गिरावट आएपछि सरकारले केही वस्तुको आयातमा समेत रोक लगाएको थियो।

अर्थतन्त्रका बाह्य सूचकमा सुधारसँगै चालु आवको असोज मसान्तमा विदेशी मुद्राको सञ्चिति १६ सय ४३ अर्ब ९ करोड रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भएको हो। २०८० असार मसान्तमा १५ सय ३९ अर्ब ३६ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि बढेको हो।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब ३३ करोड पुगेको छ। असार मसान्तमा डलर ११ अर्ब ७१ करोड थियो। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ सय ९३ अर्ब ५९ करोड रहेकोमा असोज मसान्तमा ८.३ प्रतिशतले वृद्घि भई २ सय ९ अर्ब ७३ करोड कायम भएको छ।

तथ्यांकमा महँगी घट्यो, बजारमा बढ्यो

सरकारी तथ्यांकले बजारमा मुद्रास्फीति घटेको देखाए पनि बजारमा महँगी बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको देखाएको छ। यो पोहोरको सोही अवधिभन्दा कम हो। गत वर्ष यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो।

राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति घटेको देखाए पनि बजारमा उपभोक्ता भने महँगीको मार खेपिरहेका छन्। चाडपर्वमा बजारमा कालोबजारी बढ्नुका साथै महँगी बढेको भन्दै उपभोक्तादेखि सदनसम्म आवाज उठ्ने गरेको छ।

चाडपर्वमा तरकारी, चामल, चिनीलगायत खाद्यान्नको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ।

बैंकका अनुसार भदौमा समग्र मुद्रास्फीति ८.१९ प्रतिशत रहेकोमा असोजमा घटेर ७.५० रहेको छ। गत वर्षको असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० थियो। यसरी हेर्दा पोहोर भन्दा यो वर्षको असोजसम्मको मुद्रास्फीति १ प्रतिशत बिन्दुले घटेको देखिन्छ। राष्ट्र बैंकको तथ्यांकमा मूल्य घटेको देखिए पनि बजारमा उपभोक्ताले महँगोमा समान किनिरहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।

‘९७ रूपैयाँको चिनी उपभोक्ताले १ सय ३५ रूपैयाँ किलोमा किनिरहेका छन्,’ उनले भने, ‘दाल, गेडागुडी, तरकारी, फलफूलको मूल्य पनि बढेको छ।’ बजारको मूल्य र राष्ट्र बैंकको तथ्यांक मेल नखाएको उनले बताए। ‘मूल्य घटेको तथ्यांक देखाए पनि बजारमा त्यस्तो देखिँदैन,’ अध्यक्ष तिमल्सिनाले भने, ‘मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले पहलकदमी लिनुपर्छ।’

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ११.९२ प्रतिशतले बढेको छ। समीक्षा महिनामा घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६१ प्रतिशतले घटेको छ।

प्रकाशित: २५ कार्तिक २०८० ००:२१ शनिबार

रेमिट्यान्समा कीर्तिमान असोजमा १ खर्ब ३७ अर्ब भित्रियो