अर्थ

लमजुङमा अलैंची उत्पादन घट्यो

बेसीशहर – लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ। मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन्। 

अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलैँची व्यवसायी महासंघ लमजुङले जनाएको छ। गत वर्ष ८२१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलैँची उत्पादन हुने अनुमान गरिएको महासंघका अध्यक्ष अजय तामाङले बताए। 

अलैंँचीका लागि उर्वर क्षेत्र मानिएको जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादन र मूल्यमा कमी आएपछि किसान चिन्तित बनेका छन्। पुराना बिरुवा मर्दै गएकाले उत्पादनमा कमी आएको अध्यक्ष तामाङले बताए। जिल्लाका कतिपय अलैँची बगानमा सिँचाइको व्यवस्था नभएको पनि उत्पादन घटेको हो। 

गत वर्षको तुलनामा यस वर्ष अलैँचीको क्षेत्र बढे पनि उत्पादन र मूल्य घटेको छ। केही वर्षअघि लमजुङमा अलैँचीको मूल्य प्रतिकिलो रु दुई हजार ५०० थियो। सोही अलैँची अहिले प्रतिकिलो रु आठ सयमा झरेको छ। 

जिल्लाको भूलभूले, बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायत गाउँ पाखामा व्यावसायिक रुपमा अलँैचीखेती गरिँदै आएको छ। जिल्लाका अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम शुरु गरिएको छ। 

प्रकाशित: २९ मंसिर २०७४ ०७:५२ शुक्रबार

लमजुङमा अलैंची उत्पादन घट्यो