अर्थ

भकिम्ली बन्दैछ ‘किबी गाउँ’

पछिल्लो समय म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका किसान किबी खेतीतर्फ आकर्षित भएका छन्। फलफूलको राजाको उपनामले परिचित फल किबी भकिम्लीको मुसुङ, सिम, भुकभुके, छाप लगायतका स्थानमा गरिँदै आएको छ।

२०६७ सालमा पदम पुनले डेढ सय विरुवाबाट परीक्षण उत्पादन गर्न थालिएको थियो। सफल भएपछि भकिम्लीको मुसुङ गाउँमा प्रत्येक घरधुरीले किबी खेती गरेका छन्। सदरमुकाम बेनीबजारसहित बागलुङ, पोखरालगायतका स्थानीयस्तरमै बिक्री हुन थालेपछि कृषकहरू व्यावसायिक रूपमै अन्य अन्नबाली छोडेर खेतबारीमा किबी खेती गर्न थालेका छन्।

मुसुङ गाउँमा करिब ५० घरधुरीले किबी खेती गरेको वडा अध्यक्ष पुनले बताए। पछिल्लो चारपाँचवर्षमा व्यावसायिक रूपमा किबी खेती गर्ने कृषकले आम्दानी गर्न थालेको उनले बताए।

घरायसी प्रयोजनका लागि किबी लगाएका अधिकांशले अहिले बिक्रीसमेत गर्न थालेका छन्। यसवर्ष भकिम्लीमा मात्रै करिब १० लाख बराबरको किबी बिक्री हुने अनुमान गरिएको छ। ‘उत्पादन गरेअनुसारको बजार छैन्, यहाँ उत्पादन भएको किबीले बजार पाएमा पाँच/सात वर्षमा लाखौंको निर्यात हुन्छ’, अध्यक्ष पुनले भने।

सात रोपनीमा व्यवस्थित रूपमा किबी खेती गरेका भकिम्ली मुसुङका लालबहादुर घर्तीले यसपटक बजारमा लैजान तयारी अवस्थामा रहेको बताए। वि.सं. २०७७ सालदेखि मनोज कृषिफार्म मार्फत सुरु गरिएको किबी अघिल्लो वर्षबाट फल्न थालेको थियो। यस वर्ष करिब तीन क्विन्टल किबी फलेको कृषक घर्तीको भनाइ छ।

स्वर्गाआश्रम अर्गानिक कृषि समूहका अध्यक्षसमेत रहेका घर्तीसँगै २५ जनासम्मिलित समूहका सदस्यहरू समेत किबीको उत्पादनबाट उत्साहित भएको बताउँछन्। घर्तीले कृषि ज्ञान केन्द्रबाट डेढ लाख रूपैयाँ अनुदान समेत पाएका थिए। त्यस्तै मुसुङकै लक्षु पुनले चार रोपनीमा लगाएको एक सय ७० र कृषक पृथीप्रसाद पुनले लगाएको ८९ वटा किबीले समेत उत्पादन दिन थालेको छ।

अघिल्लो वर्षदेखि किबी उत्पादन गरेर बिक्री गर्न थालिएको छ। अघिल्लो वर्ष पाँच क्विन्टल फलेको थियो भने यसवर्ष चार क्विन्टल फलेको अनुमान गरिएको छ। अहिले धेरै किसानले व्यावसायिक रूपमा किबी खेती लगाउन सुरू गरेका छन्, किबी उत्पादन धेरै हुन थालेसँगै बजारमा किबीको माग निरन्तर घट्दै गएको छ’, अगुवा कृषक पुनले भने। किबी फलको बारेमा बजारमा पर्याप्त जानकारी नहुदाँ सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ। भकिम्ली सिमका लालबहादुर पुनले लगाएको १५० बोटमा किबी पनि फलेको छ।

स्थानीय सरकारले बजार व्यवस्थापन नगर्दा किसानले बजार खोजेर प्रतिकिलो एक सय ५० देखि तीन सय रूपैयाँसम्ममा फार्मबाट बेनी र पोखराका व्यापारीलाई बेच्ने गरेको कृषकले उत्पादनलाई बजारको समस्या नहुने अवस्था आए आधा दशकमा एक करोडको किबी उत्पादन हुने अगुवा कृषक पृथीप्रसाद पुनले बताए। भकिम्लीका सबै बस्तीमा करिब ६ हजार किबीको बिरुवा बिस्तार गरिएको छ।

किबी खेती एक हजार २०० देखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ। किबी, सुन्तला र आलु खेतीबाट भकिम्लीमा वार्षिक पाँच करोड भित्र्याउने उद्देश्यले भकिम्लीको तल्लो भागमा रहेका राखु मरेक, हल्लघौडा, ज्यामिरे र तोराखेतमा ३३ हजार सुन्तलाका विरुवा किसानले लगाएका छन् भने मध्यभर माथिल्लो भागमा किबी र आलुको पकेट क्षेत्र घोषणा गरेर बिउविजन, अनुदान र तालिम उपलब्ध गराउने गरिएको छ।

बेनी नगरपालिकाले सिंगामा निर्माण गरेको शीतभण्डार (कोल्डस्टोर) मा समेत किबीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने भएको अवस्था भएको छ। अब नगरपालिकाभित्र उत्पादन झन् बढ्ने बताइएको छ। किबीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्ने गरिन्छ।

प्रकाशित: २२ कार्तिक २०८० ०१:०६ बुधबार

भकिम्ली बन्दैछ ‘किबी गाउँ’ बेनी नगरपालिका–३ भकिम्लीका किसान