अर्थ

आन्तरिक पर्यटक पदयात्रामा नीतिगत सुधार जरुरी

मार्दी भ्युपोइन्टमा रमाउँदै नेपाली पर्यटक। तस्बिर: एनिका/नागरिक

नेपालीहरूमा घुम्ने बानीको विकास भएकाले गर्दा अहिले मुलुकको विभिन्न पर्यटकीय गन्तव्य भरिभराउ भएका छन्। विशेषगरी उच्च पहाडी क्षेत्रदेखि नेपालका प्रमुख गन्तव्यहरू अहिले आन्तरिक पर्यटकले भरिभराउ भएका हुन्।

नेपालमा पदयात्रा धेरै हुने सिजन अन्तर्गत पर्ने अटम सिजन र यसै समयमा पर्ने दशैँतिहारको लामो छुट्टीलाई चाडबाडमा मात्र सीमित नराखेर नयाँ नयाँ ठाउँमा घुम्न जाने परम्परा मानिसहरूमा बसेको छ। दशैं तिहारको बिदाको अवसरमा नेपालीहरू विभिन्न पर्यटकीय स्थलमा घुम्न जाने गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र योजना (एक्याप) का इन्चार्ज नेत्र शर्माका अनुसार पछिल्ला वर्षहरूमा अन्नपूर्ण आधार शिविर (एबिसी) मा दशैँतिहारको समयमा आन्तरिक पर्यटकहरू निकै घुम्न आउने गरेका छन्।

उनले भने, ‘कोभिड यता आन्तरिक पर्यटक निकै आउने गरेका छन्, दशैँतिहारको समयमा त विदेशीहरू भन्दा बढी नेपालीहरू नै आउँछन्।’

उनले थपे, ‘टीकाको तेस्रो दिन पाँच सय २६ जना आन्तरिक पर्यटक एबिसी छिरेका थिए। त्यस दिन विदेशी भने दुई सय ५३ जना आएका थिए।’ उनका अनुसार अहिले पनि दैनिक दुई सयको हाराहारीमा नेपाली र विदेशी पर्यटक अन्नपूर्ण आधार सिविर घुम्न आइरहेका छन्।

खुम्बु क्षेत्रमा पनि अहिले आन्तरिक पर्यटकहरू धेरै आउने गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए। अध्यक्ष अधिकारीले भने, ‘केही वर्ष अघिसम्म खुम्बु क्षेत्र महँगो छ भन्ने धारणा मानिसहरूमा थियो। त्यो बिस्तारै हट्दै गएको छ। आजकल खुम्बु क्षेत्रमा नेपालीहरू अत्यधिक घुम्न आउन थालेका छन्।’

उनी थप्छन्, ‘खुम्बुमा धेरै नेपालीहरू दशैँ र तिहारको बीचमा घुम्न आउँछन्।’ विशेष गरी नेपाली युवायुवति, विदेशमा बस्ने र अवकाशप्राप्त कर्मचारीहरू खुम्बुमा धेरै आउने गरेको अध्यक्ष अधिकारीले बताए।

मार्दी हिमाल ट्रेकको हाइ क्याम्पमा पनि अहिले विदेशीभन्दा नेपाली पर्यटकहरू अत्यधिक भएको एक्सिलेन्ट भ्यु होटलका सञ्चालक चिननारायण गौतमले बताए। दशैँतिहारमा सरकारी बिदा धेरै हुने भएकाले पनि समय मिलाएर नेपालीहरू आउने गरेको उनले बताए।

उनले भने, ‘यहाँका होटलहरूमा लगभग ७५ प्रतिशत मानिसहरू आन्तरिक पर्यटक रहेका छन् भने बाँकी विदेशी छन्।’ उनले थपे, ‘पछिल्लो केही वर्ष यता दशैँतिहारको बिदामा आन्तरिक पर्यटकहरू अत्यधिक घुम्न आएका छन्।’

सरकारले घुम्नलाई प्राथमिकतामा राख्नुपर्ने नीतिगत कार्ययोजना ल्याउनुपर्यो। मुलुकको पर्यटकीय गन्तव्य स्थलहरूको पहिचान गर्ने, आवश्यक पूर्वाधार विकास गरेर आफ्ना नागरिकलाई उत्प्रेरित गर्ने उत्तम समय अहिले नै हो।

सरकारले पर्यटन प्रबद्र्धन गर्न आर्थिक वर्ष २०७८/७९ मा पर्यटन काज भनी निजामती कर्मचारीलाई पर्यटन काज दिने घोषणा गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत ‘आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने’ घोषणा गरेका थिए तर कार्यविधि स्वीकृत नहुँदा पर्यटन काज कार्यान्वयन हुन सकेन्।

पर्यटन प्रबद्र्धनको लागि सरकारले त्यस्ता नीतिगत कार्यक्रमहरू ल्याएर कार्यान्वयन गर्नुपर्ने आजको आवश्यकता हो। त्यतिमात्र नभएर सरकारले पर्यटकीय गतिविधि बृहत् रूपले बिस्तार गर्न मानिसलाई प्रोत्साहन गर्नुपर्ने घुमन्ते कञ्चन राई बताउँछन्।

नेपालको विभिन्न पर्यटकीय गन्तव्यहरूको बिस्तृत जानकारीसहितको भिडियोहरू राखेर पर्यटन प्रवद्र्धन गरिरहेका राई भन्छन्, ‘घुम्नका लागि सबैभन्दा पहिले मानिसलाई फुर्सदको समय र पैसा चाहिन्छ। काम गर्ने मानिस निश्चित समयका लागि तलबी बिदा लिएर घुम्न जान पाउने नीतिगत व्यवस्था गर्न सके पर्यटनको लागि राम्रो हुन्छ।’

उनले आन्तरिक पर्यटकले सिजनको बेला घुम्न जाँदा भेदभाव भोग्नु पर्ने अवस्थालाई पनि कसरी हुन्छ सम्बन्धित निकायले न्यूनीकरण गर्नुपर्ने बताए। उनले भने, ‘सिजनको बेला विदेशी पर्यटकले टिकट पाइहाल्ने स्थिति हुँदा नेपालीले पाइरहेको हुँदैनन्। विदेशीले धेरै पैसामा टिकट काट्ने भन्नुको मतलब नेपालीले टिकट पाउँनै नहुने भन्ने त हैन् नि?’

उनले थपे, ‘यस्तो प्रवृत्तिले आन्तरिक पर्यटकलाई निरूत्साहन गर्छ।’ मानिसहरूको घुम्ने बनीलाई मनन गरेर सरकारले सोही अनुरूपको नीतिगत योजनाहरू ल्याई कार्यान्वयन गर्नुपर्ने  उनी बताउँछन्।

यस्तै उनले कुनै पनि पर्यटकीय स्थानमा घुम्न जाने आन्तरिक पर्यटकको पनि आधिकारिक र तथ्यपूर्ण जानकारी सम्बन्धित निकायले राख्नुपर्ने राईको धारणा छ। उनी भन्छन्, ‘जानकारी तथ्यांकको लागि मात्र होइन, सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण छ, सँगसँगै फोहर व्यवस्थापनमा पनि यसले सहयोग गर्छ।’

उनले थपे, ‘पर्यटकहरू घुम्न जाँदा फोरहको विषयमा संवेदशील छैनन्, यसको नियमन गर्न पनि तथ्याङ्कसहितको जानकारी चाहिन्छ।’

सबै घुम्ने ठाउँहरूमा प्रणालीबद्ध चेक पोइन्ट र आधिकारिक प्रवेशद्वार नभएको हुँदा पर्यटक सुरक्षित हुन्छन् भन्न नसकिने उनको तर्क छ।  

उनले पर्यटकीय स्थलमा सेवा सुविधाको मूल्य निर्धारणलाई पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने जनाए। एउटै पर्यटकीय स्थलमा सेवा सुविधाको फरकफरक मूल्य हुँदा यसले पर्यटकलाई नराम्रो लाग्ने र राम्रो पनि नदेखिने उनले बताए। यी कुराहरूलाई प्रशासनिक निकायबाट नै नीतिगत रूपमा सम्बोधन गरेर स्पष्ट पारिदिएको खण्डमा स्वच्छ पर्यटन प्रवर्द्धन र अभ्यास हुने उनले बताए।

पछिल्लो समय मनिसहरू बिदा भएको समयमा त घुम्न निस्केकै छन् तर सिजनको समयमा बिदा मिलाएर घुम्न निस्कने प्रचलन पनि बढ्न थालेको छ। कोभिडअघि मानिसहरूमा घुम्न जाने भन्ने खासै चासो थिएन जति कोभिडपछि घुम्ने बानीको विकास भएको देखिन्छ। त्यसमाथि दशैँतिहारको बिदालाई सदुपयोग गर्दै घुम्न निस्केका आन्तरिक पर्यटकहरूको जोश र पदयात्रा मोहलाई सरकारले अत्मसात गरेर काम गर्ने मानिसहरूका लागि घुम्ने अवसर दिन नीतिगत रूपमै सम्बोधन गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ।

प्रकाशित: २० कार्तिक २०८० ०१:०७ सोमबार

आन्तरिक पर्यटक पदयात्रामा नीतिगत सुधार जरुरी नेपालका प्रमुख गन्तव्यहरू