अर्थ

लाङटाङमा ‘ट्रस्ट ब्रिज’ निर्माण

रसुवा – रसुवाको पर्यटकीय क्षेत्र लाङ्टाङमा ‘ट्रस्ट ब्रिज’ निर्माण गरिएको छ । यसअघि काठेपुल रहेको लाङटाङ खोलामा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । उक्त पुलबाट खसेर एक जनाको मृत्यु भएपछि घोडातबेला क्षेत्रमा पर्ने लाङटाङ खोलामा पुल बनाइएको हो। 

पुल निर्माण भएसँगै लाङटाङ जाने पर्यटक र लाङटाङबासीलाई सहज भएको छ । भूकम्पका कारण क्षति पुगेको पदमार्ग यसअघि नै निर्माण भएको भएपनि पुल निर्माण हुन नसक्दा स्थानीयबासी र पर्यटकलाई समस्या हुने गरेको थियो । 
लाङटाङ पदमार्गमा आवतजावत गर्ने पर्यटक र स्थानीयबासीलाई लक्षित गरी समार्टियन पर्स नामक गैरसरकारी संस्थाले घोडातबेला नजिक लाङ्टाङ खोलामा २७ मिटर लम्बाइ र दुई मिटर चौडाइको फलामे पुल निर्माण गरेको हो । करिब ४ महिना लगाएर निर्माण गरिएको पुलको लागत ४० लाख रुपैयाँ रहेको बताइएको छ।
 
गोसाइँकुण्ड गाउँपालिका–४ लाङ्टाङका दिण्डुप तामाङका अनुसार निर्माण भएको पुलले बर्खाको समयमा आवतजावत गर्न सहज हुन्छ । ‘बर्खाको समयमा पुरानो बाटोबाट हिँड्न गाह्रो हुने भएकाले यो बाटोको प्रयोग बर्खामा बढी हुने देखिन्छ,’ उनले भने।

भूकम्पपछिका दिनमा एक वर्ष पर्यटकको आगमन कम भएपनि पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको लाङ्टाङका सुब्बा लामाले बताए । उनले भने, ‘हिजोआज दैनिक ५० देखि एक सय ५० जनासम्म पर्यटक आइरहेका छन् ।’ सडक सञ्जालले नजोडिएको लाङटाङमा एक सय १६ घरधुरीको बसोबास रहेको छ । मुख्य पेसा पर्यटन रहेकाले त्यस क्षेत्रमा होटल व्यावसाय सञ्चालन हुँदै आएको छ। 

सदरमुकाम धुन्चेबाट दुई दिनको पैदलयात्रापछि पुग्न सकिने लाङ्टाङबासीले तिब्बतीयन भाषा बोल्छन् । लाङटाङमा होटल व्यावसायबाहेक चौंरीपालन व्यवसाय सञ्चालन हुने गरेको छ । सरकारी स्वामित्वको चिज उत्पादन केन्द्रसमेत त्यहाँ सञ्चालनमा रहेको छ। स्पोन्सरसिपमा बालबालिका पढ्न जाने भएकाले लाङटाङमा विद्यालय सञ्चालनमा रहेको छैन् ।

प्रकाशित: १७ मंसिर २०७४ ०६:३४ आइतबार

लाङटाङमा ट्रस्ट ब्रिज निर्माण