अर्थ

अनुमति लिएरै ‘स्काइ डाइभ’ गरिएको प्रमाणित

सगरमाथा क्षेत्रमा पर्यटन विभागको अनुमति बिना कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले ‘स्काइ डाइभिङ’ गरेको भन्दै एलिट स्काई डाइभिङ कम्पनीलाई सोधखोज गरिएको भन्दै कम्पनीले आपत्ति प्रकट गरेको छ।

कम्पनीका निर्देशक मिङ्मा डेविड शेर्पाले गृह मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कात्तिक ३ गते, असोज १९ गते पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट र वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय निकुञ्जबाटसमेत अनुमति, सहमती र पटके इजाजत सम्बन्धमा कानुनी प्रक्रिया पूरा गरी स्काइ डाइभिङ गरिएको बताए।

उनले भने, ‘नियम अनुसार गृह मन्त्रालय, पर्यटन मन्त्रालय, नागरिक उडड्यन प्राधिकरण र निकुञ्जबाटसमेत अनुमति लिनुपर्ने हुन्छ सोही अनुसार हामीले अनुमति लिएर नै सञ्चालन गरेका हौं।’ उनले थपे, ‘यसमा विभागबाट अनुमति लिनु आवश्यक छैन्।’

यस्तै विभागका निर्देशक राकेश गुरूङले हिमाली क्षेत्रमा गरिने स्काइडाइभ साहसिक खेल तथा गतिविधि अन्तर्गत पर्ने भएकाले विभागले यस सम्बन्धमा सम्बद्ध कम्पनीसँग सोधखोज गर्ने अधिकार भएको बताए।

उनले भने, ‘अन्य साहसिक गतिविधि अन्तर्गत स्काइडाइभ पनि पर्न सक्ने हुँदा यस गतिबिधिबारे सोध्न प्रारम्भिक सम्पर्क गरिएको हो।’

उच्च हिमाली क्षेत्रमा पर्ने साहसिक गतिविधि अन्तर्गत पर्ने भएकाले विभागलाई यसबारे कुनै जानकारी नभएको हुँदा कम्पनीसँग बुझ्नु आवश्य ठानिएको उनले बताए।

नेपाल साहसिक गतिविधिको लागि एकदमै सम्भावना भएको मुलुक भएका कारण कम्पनीले स्काइ डाइभिङको व्यावसायिक सुरुवात गरेको निर्देशक शेर्पाले बताए।

यसै क्रममा पर्वतारोही पुर्जाले सगरमाथा क्षेत्रमा स्काइडाइभिङको सुरुवात गरेको र यसलाई ‘स्काइ डाइभ निम्स दाइ’ नाम दिएको बताए। यस कार्यले मुलुकको पर्यटनसँगै रोजगारीमा पनि टेवा पुग्ने दाबी उनको छ।

प्रकाशित: १५ कार्तिक २०८० ०१:३९ बुधबार

अनुमति लिएरै ‘स्काइ डाइभ’ गरिएको प्रमाणित साहसिक गतिविधि