अर्थ

सुनसरीमा किसानलाई ७२ लाखको अनुदान दिइदै

फाइल तस्बिर

अन्न बाली उत्पादनको उर्वर भूमि मानिएको सुनसरी जिल्लामा चालु आर्थिक वर्षको पहिलो चरणमा ७२ लाख रुपैयाँ बराबर किसानलाई अनुदान रकम प्रदान गरिने भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई इनरुवा सुनसरीले पाँच वटा क्षेत्र अदुवा÷वेसार, तरकारी, माछा, धान र बंगुरलाई पकेट क्षेत्र मानेर कार्यक्रम सञ्चालन गर्दै आएकोमा पहिलो चरणमा अनुदान रकम दिनका लागि आवेदन माग गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लामा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकालाई अदुवा/वेसार जोन घोषणा गरेर कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसका लागि चालु आर्थिक वर्षको पहिलो चरणमा चाक्लाबन्दी खेती गर्नका लागि साना सिचाईं र वेसार प्रशोधनका लागि किसानलाई १५ लाख रुपैयाँ अनुदान दिन लागिएको हो।

यस्तै, परियोजना अन्तर्गत देवानगञ्ज गाउँपालिका क्षेत्र भरी र बर्जु गाउँपालिका वडा नं. ५ लाई तरकारी जोन मानेर कार्यक्रम सञ्चालन गर्दै आएकोमा चालु आर्थिक वर्षको पहिलो चरणमा ३० लाख रुपैयाँ अनुदान दिन लागिएको छ। तरकारीका लागि किसानलाई तरकारी बजारीकरण र प्रशोधन गर्न, हिउँदे तरकारीको क्षेत्र विस्तार गर्न, प्रारङ्गरिक मल प्रशोधन र सिचाईंको पूर्वाधार निर्माण गर्न अनुदान दिन लागिएको परियोजना कार्यान्वयन एकाई कार्यालय इनरुवाले जनाएको छ।

तरकारीको पकेट क्षेत्रमा किसानले हिउँदे तरकारीको रुपमा काउली, वन्दा, मुला, भण्टा, मटरकोसा, टमाटर, खुर्सानी, प्याज, गाजर, तरबुजा र  खरबुजा लगाउने गरेका छन्। यहाँका किसानले उत्पादन गरेको तरकारी इनरुवाको थोक बजारबाट पूर्वका नाम चलेका प्रायः सबै बजारमा पुग्ने गर्छ। पूर्वका बजारबाहेक राजधानी काठमाडौ पनि यहाँको तरकारी जाने गरेको छ।

कार्यक्रम अन्तर्गत माछाका लागि कोशी गाउँपालिका वडा नं. ३, बराहक्षेत्र नगरभरी र इनरुवा वडा नं. ३ मा माछा भिलिज रिसोर्ट स्थापनाका लागि १५ लाख रुपैयाँ अनुदान दिइने भएको छ। यस्तै, गढी गाउँपालिका पुरै, इटहरी उपमहानगरपालिकाको वडा नं. १५, रामधुनी र दुहवीका दुई–दुईवटा वडालाई धानजोन विशेष क्षेत्र मानेर किसानले उत्पादन गरेको धान सहकारीमार्फत न्यूनतम समर्थन मूल्यमा खरीद गरिने भएको छ। किसानको धान खरीद गर्दा मोटा धानप्रति क्वीन्टल तीन हजार १९८ र मध्यम धान ३ हजार ३६२ रुपैयाँ तोकिएको छ। यसरी धान खरीद गर्ने सहकारीलाई सरकारले ११२ रुपैयाँप्रति क्वीन्टल अनुदान दिने गर्छ।

कृषि आधुनिकीकरण परियोजनाले बंगुर पाल्नका लागि धरानका आठ वटा, इटहरीका दुई वटा, बराह क्षेत्रभरी र रामधुनीका सातवटा वडालाई विशेष क्षेत्र मानेर कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसमा यो वर्ष पहिलो चरणमा बंगुरको मल व्यवस्थापनका लागि बायो ग्यास प्लान्ट निर्माण गर्न १२ लाख रुपैयाँ अनुदान दिने भएको छ।

बंगुर पालनले गर्दा जिल्लाका ठूला तथा सानाबजार गरी १२ वटा स्थानमा बिक्रीका लागि चर्चित मानिन्छन। खनार बजार बंगुरसँगै मासु बिक्रीका लागि प्रख्यात छ। यहाँ मासुका लागि सुगुर किन्न भारतको सिक्किम र दार्जेलिङसम्मका व्यापारी आउँने गरेका छन्। चालु आर्थिक वर्षमा अझै चार चरणसम्म अनुदान रकम वितरण गर्न सकिने परियोजना कार्यान्वयन एकाई इनरुवा सुनसरीका प्रमुख देविन्द्र साहुले बताए।

२०७३ सालदेखि किसानलाई अनुदान दिंर्दै आएको परियोजना अन्तर्गत अहिलेसम्म सुनसरीमा ३५ करोड ७२ लाख ३८ हजार रुपैयाँ अनुदान पाएका छन्। परियोजनाको तथ्याङ्क अनुसार धानमा छ हजार ७०, तरकरीमा छ हजार ३१४, अदुवा/वेसारमा सात हजार १७४, माछामा दुई हजार ९०५ र बंगुरमा एक हजार १०२ जना किसान लाभान्वित भएका छन्।    

प्रकाशित: १४ कार्तिक २०८० १२:०९ मंगलबार

अनुदान किसान