अर्थ

बाैद्ध सर्किट तीर्थ यात्राका लागि रेलमार्ग निर्माणको माग

काठमाडौं—भगवान बुध्द जन्मस्थल लुम्बिनीमा पर्यटकको संख्या बढाउन बिभिन्न गन्तब्यसँग यातायात संजाल बढाउन नेपाल-भारत सीमामा पर्यटकहरुको आवागमन सहज बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएकाछन्। एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्सले बुधबार लुम्बिनीमा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले दुवै देशले सीमामा पर्यटक आवागमन सहज बनाउन अावश्यक कदम चाल्नुपर्ने बताए।

'नेपालतर्फ पर्यटक प्रहरी खटाइएकोले अलि सजिलो छ तर भारततर्फ पर्यटकहरुलाई धेरै झमेला छ। गौतम बुद्ध अन्तरार्ष्ट्रिय विमानस्थल बनेपछि नेपालबाट भारतका बौद्ध तीर्थस्थलमा जाने पर्यटकहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुँदा यस्ता कुरालाई बेलैमा सल्ट्याउनुपर्छ', एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्स का नेपाल संयोजक रवीन्द्र शर्माले भने।

एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्स बौद्ध पर्यटनमा आबाद्ध पर्यटन व्यवसायीको प्रतिनिधित्वमुलक संस्था हो। बिहार, भारतमा मुख्यालय रहेको यस संस्थाका नेपाल लगायतका देशहरुमा शाखा छन्। 

कार्यक्रममा बोल्दै सिद्धार्थनगर होटल संघका सल्लाहकार चेतन पन्तले नेपाल र भारत मिलेर दुवै देशमा रहेका मुख्य बौद्ध तीर्थस्थल जोड्ने रेलसेवा शुरु गर्नुपर्ने बताए।

सन् २०१६ मा १३६,२५३ विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेकाथिए। यो संख्या लुम्बिनी जस्तै भारतमा रहेका बोध गया, सारनाथ, कुशीनगरजस्ता बौद्ध तीर्थस्थलहरु पुग्ने बिदेशी पर्यटकहरुको संख्याको तुलनामा निकै थाेरै हो। लुम्बिनी आउने बिदेशी पर्यटक अधिकांश भारत हुँदै अाउने गर्छन्।

सिद्धार्थनगर उद्योग बाणिज्य संघका रामकुमार शर्माले नेपालले भारतीय रेल सेवा लुम्बिनीसम्म ल्याउन आबश्यक पहल गर्नुपर्ने बताए। 'चीनले लुम्बिनीसम्म रेल सेवा बिस्तार गर्ने कुरा गरिरहँदा भारतले पनि आफ्नो रेलसेवा लुम्बिनीसम्म ल्याउँछ  भन्नेमा हामि आशावादी छौं', शर्माले भने।

सिद्धार्थनगर होटल संघका अध्यक्ष सीबी श्रेष्ठले पर्यटकहरुको लागि आरामदायी बसाई र आवागमनको सहजताले ठूलो अर्थ राख्ने भन्दै, सरकारले यथोचित पूर्वाधार बिकास गरिदिए निजीक्षेत्रले पर्यटकहरुको आरामदायी बसेको जिम्मा लिने बताए। 

एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्सका माहासचिब कौलेश कुमारले अन्तरक्रियामा उठेका सुझाबहरुलाई आफुले भारत सरकारको सम्बन्धित निकाय समक्ष उठान गर्ने बताए।

कार्यक्रममा सिद्धार्थनगर एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट, सिद्धार्थनगर होटल तथा रेस्टुरेन्ट संघ, सिद्धार्थनगर यातायात समिति, नेपाल-भारत मैत्री समाज, बेलहिया लगायतका संस्थाहरुको प्रतिनिधित्व थियो।

प्रकाशित: १४ मंसिर २०७४ १२:०३ बिहीबार

बाैद्ध सर्किट तीर्थ यात्राका लागि रेलमार्ग निर्माणको माग