अर्थ

इँटा उद्योगीलाई भारतीय कामदारको भर

नेपालगन्ज–२१ पुरैनास्थित एसके इँटा उद्योगमा काम गर्दै भारतीय कामदार । तस्बिर : टेकेन्द्र

कोहलपुर – इँटा उद्योगमा काम गर्ने दक्ष जनशक्ति नेपालमा नपाउने भएपछि यतिबेला जिल्लाका उद्योगीलाई भारतीय कामदार खोज्ने चटारो सुरु भएको छ । स्वदेशमै कामदार नपाउने भएपछि भारतीय गाउँमा गएर अग्रिम रकम भुक्तानी गर्दै कामदार ल्याउने गरिएको छ। 

वर्षात र चाडपर्व सकिएसँगै जिल्लामा यो वर्षका लागि नयाँ इँटा उत्पादन सुरुसँगै इँटा उद्योगीलाई भारतीय कामदारको खोजी र चाँजोपाजो गर्ने सकस देखिएको हो। एसके इँटा उद्योग नेपालगन्ज–२१ पुरैनाका सञ्चालक तुफैल अहमदले भारतीय मजदुर ल्याएर अहिले काँचो इँटा बनाउन सुरु गरेको बताए । भारतीय नानपारा, बाबागन्ज र बहराईचसम्म पुगेर दुई सय ५० मजदुर ल्याएर इँटा बनाउने काम भइरहेको उनले बताए। 

वार्षिक २५ लाख इँटा उत्पादन गर्दै आएकोमा कात्तिक पहिलो सातादेखि भारतबाट मजदुर ल्याएर काम गरिरहेको उनी बताउँछन् । ठेकेदार खोज्दै घरघरमा गएर कामदारले अग्रिम पाँच हजारदेखि १० हजार भारतीय रुपैयाँ दिएर कामदार ल्याएको उनले जानकारी दिए । ‘आगामी जेठ मसान्तसम्म इँटा बनाउने, भट्टामा पोल्ने, तान्ने र भण्डारण गर्ने काम चल्छ ।’ उद्योगीले स्रोत, साधन, सवारी साधन, कर्मचारी, माटो, बालुवा, कोइला, काठको जुकार गरेर इँटा बनाउन भारतीय कामदार ल्याउने गर्छन्। 

चालू आर्थिक वर्षका लागि उद्योगीले इँटा बनाउन थालिसकेका छन् । इँटा उत्पादनका लागि आवश्यक स्रोत, साधन, जनशक्ति र कच्चा पदार्थ जम्मा गरेर धमाधम इँटा उत्पादन भइरहेको उद्योगीको भनाइ छ । बर्दिया, बढैयातालस्थित एमआरजे इँटा उद्योगका सञ्चालक मेराज पठानले कात्तिक महिनादेखि नयाँ इँटा उत्पादन गर्न माटो, बालुवा खरिद, संकलन, थुपार्ने, माटो भिजाउने, बालुवा खसाउने, माटो पथाई गरेर साँचोबाट काँचो इँटा निर्माण गर्ने काम भइरहेको बताए । ‘इँटा उद्योगमा चाहिने तीन सय ५० मजदुर भारतबाट ल्याएर ठेक्कामा काम लगाएको छौं,’ उनले भने। 

भारतीय नागरिकलाई सबै मजदुरको ठेक्का दिएर इँटा बनाउने, पोल्ने, साँचोमा पार्ने, माटो भिजाउने, पथाईको जिम्मा दिइने गरिन्छ । ‘भारतीय कामदारलाई वर्षातमै अग्रिम १० प्रतिशत रकम बैना दिएर ल्याउने गर्छौ,’ पठानले भने, ‘यो सिजनमा चाहिने बाँकी कामदार पाउनै सकिएको छैन ।’ भारतबाट मजदुर ल्याउँदा अग्रिम भुक्तानी दिनुपर्ने र जसलाई पायो उसलाई दिँदा रकम फस्ने सम्भावना रहेको उनले बताए ।  कात्तिकदेखि जेठ महिनाको अन्तिमसम्म इँटा व्यवसायीका लागि नयाँ इँटा उत्पादन, संकलन र बिक्री गर्ने सिजन मानिन्छ । बाँकेमा उत्पादित इँटा बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, दाङ, रुकुम, सल्यान, मुगु, जुम्ला, रुकुमदेखि कैलाली, कञ्चनपुरसम्म बिक्री गर्ने गरिन्छ। 

इँटा उद्योग व्यवसायी संघ बाँके जिल्ला अध्यक्ष प्रकाश शाहले उद्योगीले यो सिजनका लागि करोडौ रुपैयाँ लगानी गरेर इँटा उत्पादनका लागि भारतीय कामदार ल्याउन सुरु गरेको बताए । उद्योग सञ्चालन सुरु भएपनि भारतीय मजदुर ल्याउनुपर्ने, भारतीय रुपैयाँमा पारिश्रमिक दिनुपर्नेदेखि कोइला, ढुवानी, माटोको मूल्य बढ्दा महंगी थपिएको उनले बताए । ‘नेपालमै इँटा बनाउने कामदार पाइदैनन्,’ उनले भने, ‘वार्षिक २० हजार रुपैयाँसम्म दिएमात्रै भारतीय नागरिक आएर उद्योगमा काम गर्छन्।’ 

भारतीय कामदारले दैनिक एक हजार र एक सिजनमा नेपाली एक लाख बराबर रकम बचत गर्ने गरेको उनले जानकारी दिए । सिजनमा एउटै उद्योगमा दुई सय ५० देखि एक हजारसम्म कामदार खटिने गर्छन् । बाँकेमा अहिले ५५ इँटा उद्योग सञ्चालमा छन् । त्यस्तै बर्दियामा ३२ वटा इँटा उद्योग छन् । यो सिजनमा एक उद्योगमा तीन करोडदेखि १० करोड रुपैयाँसम्म लगानी हुन्छ । इँटा उद्योगका लागि गाडी, चालक, लोड गर्ने कामदार, इँटा तयार पार्ने, पोल्ने, ओसार्ने, लाइन मिलाउने, सुकाउने, कार्यालय हेर्ने, कोइला, काठ राख्ने लगायत क्षेत्रमा काम हुने गर्छ। 

बाँके र बर्दियाका ८७ इँटा उद्योगबाट वार्षिक ३४ करोड ८० लाख बढी नयाँ इँटा उत्पादन हुन्छ भने यी उद्योगमा ३४ हजारभन्दा बढी कामदारले रोजगारी पाएका छन्। 

प्रकाशित: १३ मंसिर २०७४ ०७:११ बुधबार

इँटा उद्योगीलाई भारतीय कामदारको भर