अर्थ

एनएमएले स्थापना दिवस मनाउने

नेपाल पर्वतारोहण महासंघ (एनएमए)ले ५० औं स्थापना दिवस मनाउने भएको छ। महासंघले यही कात्तिक १५ गते विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो।

स्थापना दिवसको अवसरमा महासंघले ‘पासाङ ल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार’ स्थापना गरेको छ। महासंघका अध्यक्ष निमा नुरू शेर्पाले स्थापना दिवसको अवसरमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको सम्मान स्वरूप पुरस्कार स्थापना गरिएको पत्रकार सम्मेलन मार्फत गराए। उनले पर्वतीय पर्यटनमा नेपाली महिलाहरूको उत्साहजनक उपस्थिति भइरहेकाले उनीहरूलाई थप प्रोत्साहन तथा हौसला दिने अभिप्रायले साहसिक महिला आरोहीलाई पुरस्कृत गर्न लागिएको बताए।

हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यस वर्ष आठ हजार मिटरमाथिका विश्वका १४ मध्ये १० हिमाल सफलतापूर्वक आरोहण गरी विश्व रेकर्ड राख्ने आरोही पासाङ ल्हामु शेर्पा अकितालाई प्रदान गर्ने निर्णय गरिएको उनले बताए।

अध्यक्ष शेर्पाका अनुसार महासंघको वार्षिक साधारणसभामा एसिया महादेशका १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव र प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रममा कुमार खड्गविक्रम शाह प्रतिभा पुरस्कार, दावा नोर्बु शेर्पा पर्वतीय पर्यटन पुरस्कार र डा. हर्क गुरूङ पर्वतीय पुरस्कार प्रदान गरिने जानकारी महासंघका महासचिव मोहन लम्सालले दिए।

प्रकाशित: १३ कार्तिक २०८० ०१:५२ सोमबार

नेपाल पर्वतारोहण महासंघ (एनएमए) ५० औं स्थापना दिवस