अर्थ

सुनको मूल्यमा नयाँ रेकर्डः १ लाख १७ हजार तोलामा कारोबार हुँदै

सुनको मूल्यले कात्तिक लागेसँगै दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको छ। आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज तोलामै सुनको मूल्य एक हजारले बढेको छ।

महासङ्घले आज छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको बताएको छ। जबकी शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रूपैयाँमा कारोबार भएको थियो।

महासङ्घकाअनुसार पछिल्लो १२ दिनमा ५१०० रुपैयाँले सुनको मूल्य बढेको छ। कात्तिक एक गतेदेखि हरेक दिनजसो उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य शुक्रवार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

३० असोजमा प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो।

प्रकाशित: १२ कार्तिक २०८० ०७:४२ आइतबार

सुन चाँदी मूल्य नेपाल सुन चाँदी व्यवसायी महासङ्घ