अर्थ

मर्दी हिमाल पदयात्रा गर्ने पर्यटकसँग अब शुल्क लिइने

मर्दी हिमाल पदयात्रा गर्ने पर्यटकहरु। तस्बिर: नागरिक।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा चार वटा पदयात्रा मार्ग रहेका छन्। चार मध्ये दुई पदयात्राको लागि प्रचलित छन्। बाँकी दुईमध्ये एक प्रयोगमा आए पनि कमै चर्चा छ। तर एउटा भने प्रवर्द्धन गर्नुपर्नेमा अवस्था रहेको गाउँपालिकाले जनाएको छ।

माछापुच्छ्रे गाउँपालिकाको मर्दी हिमाल पछिल्लो समय आन्तरिक पर्यटकको पहिलो रोजाईको छोटो पदयात्रामा पर्छ। त्यसपछि ग्रेट माछापुच्छ्रे ट्रेल अर्को मार्ग हो। यी मार्गमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ। घलेखर्क–ताराहिल पदयात्रा मार्गलाई प्रवर्द्धन गर्नेमा  गाउँपालिकाले जोड दिएको छ। माछापुच्छ्रे टान मोडेल ट्रेकमा भने अहिले पर्यटकको चहलपहल कम छ।

मर्दी हिमाल पदयात्रा जाने आन्तरिक तथा बाह्य पर्यटकको तथ्यांक गाउँपालिकासँग छैन। यद्यपि वार्षिक ५० हजार आन्तरिक तथा बाह्य पर्यटक माछापुच्छ्रे गाउँपालिकाको छिर्ने अनुमान गाउँपालिका छ।

गाउँपालिकाले यसै सातादेखि आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्रा शुल्क लिने निर्णय गरेको छ। गाउँपालिकाले शुल्क उठाउने बारे सूचना नै जारी गरेको छ।

‘यसै सातादेखि शुल्क उठाउन सुरु गर्छौ’ पर्यटन व्यवसायी एवं गाउँपालिकाका सदस्य राम गुरुङले भने ‘पदमार्गको व्यवस्थापनको लागि शुल्क उठाउने निर्णय गरेका हौं’ 

उनले शुल्कबाट नै माछापुच्छ्रे गाउँपालिकामा कति आन्तरिक तथा बाह्य पर्यटक भित्रिए भन्ने यकिन तथ्यांक समेत संकलन हुने बताए। उठाइएको शुल्कबाट गाउँपालिका भर बिजुली र इन्टरनेट सेवाको पहुँच समेत पुर्‍याउने उद्देश्य रहेको उनले सुनाए। सोही शुल्कबाट सूचना केन्द्र, विश्राम स्थल तथा अत्यावश्यक रहेको शौचालय समेत निर्माण गरिने योजना रहेको उनको भनाई थियो।

गाउँपालिकाले तीन दिन अघि मात्रै शुल्क उठाउने सूचना जारी गरेको थियो। सूचनामा आन्तरिक पर्यटकलाई एक सय रुपैयाँ र बाह्य पर्यटकलाई पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

‘मर्दी हिमाल उक्लिने हुमाल (लो–क्याम्प) मा मानव संसाधन प्रयोग गरेर शुल्क उठाउन सुरु गर्छौ’ उनले भने ‘यसै आर्थिक वर्षको सुरुवातबाटै लिने तयारी गरेका थियौँ तर आन्तरिक छलफलबाट निर्णय गर्न ढिलाइ भयो। यो हप्ता (सोमबारदेखि) शुल्क उठाउन सुरु हुन्छ।’

माछापुच्छ्रे गाउँपालिकाको पदयात्रा मार्गमा आउने पर्यटकमा ८० प्रतिशत आन्तरिक र २० प्रतिशत मात्रै बाह्य पर्यटक रहेको उनले जानकारी दिए। मर्दी हिमालसँगै आन्तरिक पर्यटक खुमैं–कोर्चुङ पदयात्रा गर्न बढी आउने गरेका छन्। छोटो र रोमाञ्चक तथा साहसिक भएकोले पनि यो मार्ग आन्तरिक पर्यटकको पहिलो रोजाईको मार्ग बन्दै आएको छ।

गाउँपालिकाभित्रको पदयात्रा मार्ग विशेष गरी छोटो दुरीको लागि प्रचलित छन्। सदस्य गुरुङले तीन रात चार दिनको यात्रा गर्न सकिने बताए।

‘भविष्यमा मौसम सम्बन्धी जानकारी दिने उपकरण समेत जडान गर्ने योजना छ।’ उनले भने ‘पदमार्गमा आवश्यक उद्धार टोली समेत बनाइने छ।’

मर्दी हिमाल पदयात्रामा जाने पर्यटकहरु बाटो बिराउँदा हराउने हुँदा उद्धारको लागि टोली बनाउने उनको भनाई थियो। गाउँपालिकाले चलनचल्तीसँगै घलेखर्क–ताराहिल (३२०० मिटर) हुदैं मादी गाउँपालिकाको सिक्लेस जोड्ने पदयात्रा मार्ग प्रवर्द्धनको अभियानमा समेत रहेको जनाएको छ। 

उठाइएको शुल्कले पदयात्रा मार्गलाई व्यवस्थापन गरी जीवन्त राख्ने उद्देश्य समेत रहेको उनले जिकिर गरे। ‘पदयात्रा मार्गलाई संरक्षण गर्नुपर्छ। दिगो पर्यटनको लागि पदयात्रा मार्गलाई जीवन्त राख्नुपर्छ’ उनले भने ‘संरक्षण र व्यवस्थापन गर्न पर्यटकसँग शुल्क उठाउने निर्णय गरेका हौं।’

उठाइएको शुल्क पदयात्रा मार्ग व्यवस्थापनमा मात्रै खर्च गरिने उनको भनाई थियो। एक्यापले बाह्य पर्यटकसँग तीन हजार शुल्क लिने गरेको छ भने पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) बापत एक हजार रुपैयाँ शुल्क लिने गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८० ०८:४१ शनिबार

मर्दी हिमाल