अर्थ

माथिल्लो तामाकोसीको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

दोलखा- स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हेडरेस टनेल अर्थात मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ ।
आयोजनाको बाँधस्थल लामाबगर र गोंगर दुवैतर्फबाट सात वर्षअघि खन्न सुरु गरिएको ८.४ किलोमिटरको मुख्य सुरुङ मार्ग बिहीबार पूरा भएसँगै ‘ब्रेक थ्रु’को उत्सव मनाइएको दिनलाई अधिकारीहरुले आयोजना निर्माण चरणमध्येको महŒवपूर्ण सफलता भनेका छन् ।
जमिनभित्रको प्रकृतिसँग जुधेर भुगोल, नापलगायत सबै मिलाउनु पर्ने कठिन कार्यका कारण दुईतिरबाट खन्दै लगिएको सुरुङ बाधा अवरोधबिनै बीचमा छेडिएर पूरा हुने कार्यलाई ठूलो सफलताको रुपमा मानिने भएकाले यसरी दुवै तर्फबाट खन्दै लगिएको सुरुङ भेटिएर पूरा हुने कामलाई ‘ब्रेक थ्रु’ भनिन्छ ।
ऊर्जा मन्त्रालयका अधिकारीहरुको उपस्थितिमा बिहीबार मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो । ऊर्जा सचिव अनुपकुमार उपाध्यायले दोलखाको विगु गाउँपालिका–१ लावागरस्थित गोंगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्यालयमा बसेर सुरुङ मार्गभित्र रहेका प्राविधिकलाई टेलिफोनबाट ‘ब्रेक थ्रु’ गर्न निर्देशन दिएपछि बिस्फोटक पदार्थको साहयताले सुरुङ मार्ग जोड्न बाँकी राखिएको दुई मिटर अन्तरको भाग बिस्फोट गरी ‘ब्रेक थ्रु’ गरिएको थियो । बिस्फोटलगत्तै आयोजनाको मुख्य सुरुङ मार्ग जोडिएको घोषणा उपाध्यायले गरेका थिए । सो उत्सवमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित ऊर्जा र प्राधिकरणका अधिकारी उपस्थित थिए ।
सुरुङ मार्ग पुरा भएसँगै आयोजनाको महŒवपूर्ण काम बाँधस्थलदेखि पावर हाउससम्म पानी आउने ठाउँ खुलेको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘आयोजनाको कठिनमध्येको काम बाँधस्थलमा जम्मा गरेर पावर हाउससम्म टर्बाइन घुमाउन पानी ल्याउने ठाउँ अब खुल्यो,’ ब्रेक थ्रु उत्सव सकेपछि साँझ नागरिकसँग प्रतिक्रिया दिँदै श्रेष्ठले भने, ‘आयोजनाको सुरुङ मार्गका कामहरु अब लगभग सकिएको छ ।’ उनका अनुसार बाँधस्थलमा टबाईन घुमाइसकेपछि निकास भएर पुनः नदीमा पानी पठाइने अडिट टनेल तीन वर्षअघि नै पूरा भइसकेको छ । श्रेष्ठका अनुसार यो सँगै अब खनिएको सुरुङलाई कंक्रिट गर्ने र स्टिल राख्ने काम सुरु हुनेछ ।
बिहीबार ब्रेक थ्रु उत्सव मनाएलगत्तै आयोजनाले आफ्ना कामको प्रगती विवरण सुनाउँदै ९२ प्रतिशत काम पूरा भएको घोषणा गरेको छ । ‘आगामी २०७५ को पुस महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेका छौं,’ श्रेष्ठले भने ।
हालसम्म १७.९ किलोमिटर सुरुङ निर्माणका काम पूरा भएको आयोजनामा अब नौ सय २० मिटरको साना सुरुङहरु बनाउन बाँकी रहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
२०६७ सालबाट सुरु भएको आयोजना २०७२ मा सम्पन्न हुने लक्ष्य राखिएको थियो । २०७२ को भूकम्प र नाकाबन्दीका कारण धकेलिएको आयोजना आगामी वर्षको पुसभित्र सम्पन्न हुने अधिकारीहरुले दाबी गरेका छन् ।

प्रकाशित: ४ मंसिर २०७४ ०४:२१ सोमबार

माथिल्लो तामाकोसीको मुख्य सुरुङ ब्रेक थ्रु