अर्थ

समस्या समाधान गर्न मन्त्रिपरिषदमा सिफारिस

अरूण ३ प्रवेशमार्ग

लगानी बोर्डको ५६ औं बैठकले निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको प्रवेशमार्ग छ्यांकुजटी–दिदिङ २४ किलोमिटर सडक खण्डको समस्या समाधान गर्ने सम्बन्धमा मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले सो सिफारिस गरेको हो। विकासकर्ता एसजेभिएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले एक खर्ब ४४ अर्ब रूपैयाँ लागतमा निर्माण गरिरहेको यस परियोजनाको भौतिक प्रगति ६६.३ प्रतिशत र प्रसारणलाइनतर्फ १५.४६ प्रतिशत रहेको छ।

प्रधानमन्त्री दाहालले अरूण तेश्रो जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणामा कार्यान्वयन भइरहेको विदेशी लगानीको परियोजना भएकाले आवश्यक सहजीकरण गर्न निर्देशन दिए।

‘यो परियोजना विदेशी लगानीमा निर्माण भएको परियोजना हो। त्यसैले यसको सहज र सफल कार्यान्वयन तथा प्रभावकारी सहजीकरणले विदेशी लगानीको अनुकूल वातावरण रहेको सन्देश प्रवाह हुनेतर्फ सचेत रहनुपर्छ,’ उनले भने, ‘यो परियोजना समयमा सम्पन्न गर्न आवश्यक सहजीकण गरिदिन सम्बन्धित निकायहरूले प्रभावकारी समन्वयसहित चुस्त ढंगले काम गर्न निर्देश गर्दछु।’

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधिहरू तथा ५५ औं बोर्ड बैठकको निर्णयहरूको कार्यान्वयन अवस्था र ५६ औं बोर्ड बैठकका कार्यसूचीका सम्बन्धमा संक्षेपमा प्रस्तुतीकरण गरेका थिए।

उनले परियोजना विकास सम्झौताका करारजन्य दायित्व पूरा गर्न सरकारको सिंगो संयन्त्रले प्रभावकारी कदम चाल्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित: २ कार्तिक २०८० ०२:०४ बिहीबार

अरूण ३ प्रवेशमार्ग समस्या समाधान गर्न मन्त्रिपरिषद्मा सिफारिस