सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाको बाँधको उचाइ घटाउने सहमति भएको छ । सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनाको अध्ययन सम्बन्धमा गठित नेपाल–भारत संयुक्त विज्ञ टोलीको गत असोज २२ देखि २४ गतेसम्म भएको १७ औं बैठकले आयोजनाको बाँध करिब ३१ मिटर घटाउने सहमति गरेको हो ।
विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतले बाँधको उचाइ ३३५.२५ मिटरबाट ३०४.८ मिटरमा झार्ने सहमति भएको बताए । ‘समुन्द्रीसतहबाट करिब ३१ मिटर उचाइ घटाउने विषयमा छलफल भएको हो,’ उनले भने, ‘यसको विस्तृत विवरण भने आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेपछि मात्रै टुंगो लाग्नेछ ।’
महानिर्देशक चटौतले आयोजनाको बाँध घटाउनुमा सप्तकोसी आयोजनाभन्दा माथिल्लो भेगमा निर्माणाधीन जलविद्युत् आयोजनाले पानीको खपत गर्ने र वातावरणीय संरक्षण लगायतका कारणले आयोजनाको बाँधको सतह घटाउन लागिएको बताए । ‘यो आयोजनाको अहिलेसम्म पनि विस्तृत अध्ययन हुनै पाएको छैन,’ उनले भने, ‘अबको ३० महिनाभित्र आयोजनाको विषयमा विस्तृत अध्ययन गर्न लागिएको हो ।’
ऊर्जा मन्त्रालयका अनुसार यो आयोजनाबाट ३४ सय ८९ मेगावाट बिजुली उत्पादन गर्न सक्ने भनिएपछि यसपछि झण्डै तीन हजार मेगावाट क्षमतामा झर्नेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता नवीनराज सिंहले सप्तकोसी आयोजनाको डुवान क्षेत्र, माथिल्लो तटीयक्षेत्रमा प्रस्तावित सञ्चालित गरिएका आयोजनाहरू र सामाजिक तथा वातावरणीय र प्राविधिक पक्षहरूलाई समेत मध्यनजर गरी बाँधको ऊचाइ घटाउने सहमति भएको बताए ।
‘संयुक्त जलस्रोत समितिको नवौं बैठकको निर्देशन बमोजिम आयोजनाबाट तयार गरिएको परिमार्जित आकार प्रकार सम्बन्धी अध्ययनको प्रतिवेदन प्रस्तुत भएको थियो,’ उनले भने, ‘सोही विषयमा विस्तृत छलफल भएर बाँधको उचाइ घटाउने सहमति भएको हो ।’
ऊर्जा मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सिसौलीमा प्रस्तावित रिरेगुलेटिङ ब्यारेजको विकल्पमा उपयुक्त नयाँ स्थानमा रि–रेगुलेटिङ ब्यारेजको साथै नेपाली भूभागमा सिँचाइ सम्बन्धी अध्ययन कार्य जलस्रोत तथा सिँचाइ विभाग (नेपाल) को सहकार्यमा अगाडि बढाउने सहमति भयो ।
भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङकन र पुनर्वास तथा पुनः स्थापना अध्ययन जस्ता महत्वपूर्ण अध्ययन कार्यहरू बाँकी रहेकाले प्राथमीकरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति भएको छ । यो आयोजनाको भारत सरकारबाट सन् १९८१ मा तयार गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार बराहक्षेत्रबाट १.६ किलोमिटर उत्तरतर्फ सप्तकोसी नदीमा पानीले भेट्ने भुइँमुनिको चट्टान सतहमा २६९ मिटर कंक्रिटको अग्लो बाँध रहनेछ।
सप्तकोसी नदी सातवटा शाखा नदीहरू मिसिएर बनेको नेपालको एक प्रमुख नदी हो । यी शाखा नदीहरूमध्ये सुनकोसी, अरूण र तामाकोसी तीन नदीहरूको उद्गमस्थल छिमेकी राष्ट्र चीनको तिब्बत हो भने इन्द्रावती, लिखु, दुधकोसी र तमोरको उद्गमस्थल नेपाल हो । सप्तकोसी नदी भारतको कुर्सेला भन्ने स्थानमा गंगा नदीमा गई समाहित हुन्छ । सन् १९४६ मा भारत सरकारबाट सप्तकोसी उच्च बाँध आयोजनाको अध्ययनका लागि स्थलगत सर्भेक्षण भएको थियो ।
सर्भेक्षणको आधारमा सन् १९८१ मा भारत सरकारद्वारा आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारिएको थियो । प्रतिवेदनमा सप्तकोसी उच्च बाँधबाट नेपाल र भारत दुवै देशलाई सिँचाइ, विद्युत् र बाढी नियन्त्रणका फाइदाहरू प्राप्त हुनसक्ने कुरा उल्लेख गरिएका छन् ।
सन् १९८५ मा जाइकाको सहयोगमा नेपालले कोसी नदी वेसिनको जलश्रोत विकास सम्बन्धी गुरुयोजना तयार गर्दा यस योजनाको साथै सुनकोसी स्टोरेज कम डाइभर्सन आयोजनालाई पनि प्राथमिकता दिई विकास गर्न सिफारिस गरिएको थियो । गुरु योजनाको प्रतिवेदन अनुसार डाइभर्सन आयोजनाबाट विद्युत् उत्पादनको साथै कमला नदीको दुवै किनारमा रहेका भूभागमा समेत सिँचाइ सुविधा पुग्ने र कमला नदीको तल्लो तटमा बाढी नियन्त्रण हुने समेत उल्लेख गरिएको छ ।
प्रकाशित: ३० आश्विन २०८० ०१:०४ मंगलबार