अर्थ

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकले आफूलाई आवश्यक सरसामानहरू खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पिओएस मेसिनबाट भुक्तानी गर्दा तीन सय रूपैयाँदेखि पाँच सय रूपैयाँसम्मको नगद फिर्ता हुनेछ।

नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकले योजना अवधिभर कम्तीमा हजारको तीन वटा कारोबार गरेमा तीन सय तथा पाँच वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा पाँच सय रूपैयाँको नगद फिर्ताबाट लाभान्वित हुने बैंकले जनाएको छ।

यो योजना असोज २८ देखि कात्तिक ७ गतेसम्म लागु हुनेछ। साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफूलाई आवश्यक सरसमानहरू खरिद गर्दा क्युआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ‘दसैं’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा १० प्रतिशत वा अधिकतम तीन सय रूपैयाँसम्मको नगद छुट पाउनेछन्।

प्रकाशित: २९ आश्विन २०८० ०१:४२ सोमबार

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाइलो’