अर्थ

गोलभेंडाको घातक किरा ‘टुटा एब्सोलुटा’ फैलँदो

टुटा एब्सोलुटा किराले क्षति पुर्‍याएको गोलभेंडाको फल देखाउँदै पनौती–८, खरीबोटका किसान हरिनारायण श्रेष्ठ । फाइल तस्बिर : नागरिक

बनेपा – २०७३ जेठ ३ गतेलाई काठमाडौंसहित आसपासका पाँच जिल्लाका गोलभेंडा किसानले पीडादायी दिनका रुपमा लिन्छन् । नेपालको गोलभेंडामा घातक किरा ‘टुटा एब्सोलुटा’ (गोलभेंडाको पात खन्ने किरा) प्रमाणित भएको यही दिन थियो ।

दक्षिण अमेरिकामा सन् १९६० मा देखापरेको यो किरा सन् २०१४ मा भारतको महाराष्ट्र र कर्णाटकको विभिन्न क्षेत्रमा प्रकोपकै रुपमा फैलिएको थियो । नेपालमा त्यसको दुई वर्षपछि देखापरेको हो । त्यसलगत्तै नेपाल कृषि अनुसन्धान परिषद (नार्क), कृषि विभाग÷बाली संरक्षण निर्देशनालय र विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले यस किराको व्यवस्थापनका लागि विभिन्न उपाय खोजी गर्न थालेका हुन्।

सुरुका केही महिना काठमाडौं, भक्तपुुर, ललितपुर, काभ्रेपलाञ्चोक र धादिङमा मात्रै रुमल्लिइरहेको टुटा एब्सोलुटा अचेल मुलुकका आधाभन्दा बढी जिल्लामा फैलिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गर्न थालिएको छ ।
‘विभिन्न उपायबाट केही महिना यो किरा नियन्त्रणमा आएको देखिएको थियो । अहिले तेह्रथुमदेखि कैलालीसम्म फैलिएको हालैको अध्ययनले देखाएको छ । यो क्रम बढ्दो पाइएकाले टुटा किरा व्यवस्थापनको रणनीति बनाउन लागिएको हो,’ धुलिखेलमा आयोजित कार्यशालामा निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले भने, ‘हिमालीदेखि तराईका २७ वटा जिल्लामा टुटाको आक्रमण हुन थालेको पाइयो । किराले यी जिल्लामा व्यावसायिक बन्दै गएको गोलभेंडा खेतीलाई सखाप पार्न थालेको छ।

गोलभेंडाको बेर्ना सारेदेखि नै यसले पात, डाँठ, मुनामा क्षति पुर्‍याउने र फल लाग्नासाथ फलभित्र छेडेर नोक्सानी गर्ने उनको भनाइ छ । ‘हामीले किसानलाई बाहिरबाट गोलभेंडाको बेर्ना नल्याउन, गोलभेंडाको क्रेट आदान–प्रदान नगर्न अनुरोध गर्दै आएका छौं । उपभोक्तालाई समेत बाहिरको गोलभेंडा नखाई गाउँकै गोलभेंडा खान सल्लाह दिइरहेका छौं,’ राजभण्डारीले भने।

यति हुँदाहुँदै पनि किराको प्रकोप बढ्न थालेपछि निर्देशनालयले रोकथामका लागि विभिन्न उपाय सिफारिस गरेको छ । तिनमा किरा उत्पादक पुतलीलाई पासोमा पार्ने (फेरोमेन ट्र्याप) र सुरक्षित विषादी प्रयोग छन् । केमिकल विषादीमा स्पिनोस्याड, क्लोरानिट्रिपोल, नोभालुरोन, इन्डोक्साकार्ब, अबामेक्टिन, इमामेक्टिन बेन्जोएट र जैविक विषादीमा नीममा आधारित विषादी प्रयोग गर्न सुझाएको छ।

निर्देशनालयका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकाल पनि गोलभेंडामा टुटाको क्षति कम गराउने क्रममा किसानले जानेर या नजानेरै कडा खालको र ‘कक्टेल’ विषादी प्रयोग गर्न थालेका बताउँछन् ।
‘किराको आक्रमणपछि फल नलाग्दै पूरै पात जलेझैं नष्ट हुने र फलसमेत शतप्रतिशत नष्ट हुने हुँदा किसान आत्तिनु स्वाभाविकै हो,’ उनले भने।

उता, टुटा किराको आक्रमण रोक्न निर्देशनालय मातहतका बाली संरक्षण अधिकृतले आफू कार्यरत जिल्लामा गैरसरकारी संस्था, कृषक समूह र किसानकै सहभागितामा कार्यमूलक अनुसन्धान गर्दै आएका छन् ।
‘०७३ जेठमा टुटाको आक्रमणले काभ्रेको गोलभेंडा साढे ५७ प्रतिशतसम्म क्षति भयो । त्यसलगत्तै किसानकै सहभागितामा विभिन्न कार्यमूलक अनुसन्धान गर्दै जाँदा यसमा कमी आइरहेको थियो । तर, फेरि आक्रमण हुन थालेको छ,’ बाली संरक्षण अधिकृत एवं प्लान्ट डाक्टर देवराज अधिकारीले भने।

जिल्लाभित्र प्लान्ट क्लिनिक सञ्चालनका क्रममा व्यावसायिक गोलभेंडा खेती हुने पाँचखाल, नाला, पनौती–खोपासी क्षेत्रमा टुटा आक्रमणले खेती सखाप भएको पाएपछि किसानकै सहभागितामा विभिन्न कार्यमूलक अनुसन्धान गरिएको उनको भनाइ छ । ‘रोगी पात हटाउने, बाली चक्र परिवर्तन, टुटाको लार्भा टिप्ने, पासो प्रयोग, बेर्नाको ओसारपसारमा बन्देज, नर्सरीमा जाली, जैविक विषादी र झोल मल प्रयोगका साथै केमिकल विषादीसमेत फरक–फरक क्षेत्रमा फरक–फरक विधि अपनाएर हेर्‍यौं,’ अधिकारीले भने।

कार्यमूलक अनुसन्धानका क्रममा कतिपय स्थानमा सजिलै टुटा नियन्त्रणमा आएको र किसानले त्यही विधिलाई अनुसरण गर्न थालेको उनले बताए । ‘महादेवस्थानको तीनचौतारा जैविक कृषक समूहमा फेरोमेन ट्र्याप, झोल मल र जैविक विषादीले किरा नियन्त्रणमा सफलता मिलेको छ,’ अधिकारीले थपे।

सिप्रेडको सहयोगमा जलवायु अनुकूलन खेती गर्दै आएका रबिओपीका किसानले गोलभेंडाको बिरुवालाई दुई प्रतिशत क्लोरानिट्रिपोलको झोलमा १५ मिनेट जरा डुबाएर रोपेर त्यसपछि १५–१५ दिनको फरकमा माटोमै ५० देखि एक सय मिलिसम्मको यही झोल प्रत्येक बिरुवामा हाल्दा किरा नियन्त्रण गर्न सकिएको अधिकारीले बताए।

‘गोलभेंडाको भाउ आउँदा किसानले पनि विषादी हालेको पाइएको छ । भाउ नआउँदा हाल्न छाडेका छन् । यसले समेत टुटा किरा फर्कने क्रम बढेको हो । यही क्रम जारी रहेमा विषादीको अवशेष (रेजिड्यू) रहने चिन्ता थपिँदो छ,’ कृषि विकास कार्यालय काभ्रेका वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले भने।

यो किरालाई आश्रयदाता बालीमध्येका आलु, भण्टा, सुर्ती, सिमी आदि बालीसँग गोलभेंडाको बाली चक्र नअपनाउन किसानलाई आग्रह गरेका छन् । साथै, बत्तीको पासो (लाइट ट्र्याप) राखेर पुतली संकलन गर्ने वा प्रतिरोपनी एउटाका दरले टिएलएम ल्युर फेरोमन ओटाटी ट्र्याप वा स्टिकी ट्र्यापको प्रयोग गर्न उनले सुझाए।

‘अहिले किरा नियन्त्रणमा प्रयोग भइरहेका जैविक र केमिकल विषादी धेरै महँगो भएकाले किसानलाई भार थपिँदो छ । यसको विकल्पमा नार्कलगायत निकायले थप अनुसन्धान गर्नुपर्छ,’ पण्डितले भने।

नार्कका अनुसन्धानकर्ता अजयश्रीरत्न बज्राचार्यले नेपालको गोलभेंडामा पहिलोपटक टुटा एब्सोलुटाको आक्रमण भएलगत्तै यसको रोकथामका लागि विभिन्न अनुसन्धान गर्दै आइरहेको र किसानलाई तत्कालका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम)का विधि अपनाएर खेती गर्न सुझाव दिइएको बताए । ‘किनकी किसानले किरा नियन्त्रणका लागि एकैपटक धेरैथरि विषादी प्रयोग गरेको पाइयो । यसले रेजिस्टेन्ट ल्याउन सक्छ,’ उनले थपे।

नार्कको कीट विज्ञान महाशाखाले गोलभेंडा खेती व्यवासायिक बन्दै गएका क्षेत्रको फिल्डमै पुगेर टुटा एब्सोलुटाको आक्रमणको अवस्था, यसबाट भएको क्षतिको यकीन, यसको बायोलोजिकल अध्ययन, विभिन्न पासोको मूल्यांकन, विषादीको अवशेष मूल्यांकन  र टुटा व्यवस्थापनका लागि प्राविधिक व्यवस्थानका विधि तयार गर्ने कार्यक्रम राखेको पनि बज्राचार्यले जानकारी दिए।

नेपालमा व्यावसायिक बन्दै गइरहेको गोलभेंडा खेतीलाई टुटाको आक्रमणबाट जोगाउन धुलिखेल कार्यशालाले राष्ट्रियस्तरमा टुटा किरा व्यवस्थापन रणनीति तयार गर्न बाली संरक्षण निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विभाग, तरकारी विकास निर्देशनालय, कृषि विश्वविद्यालय र गैह्रसरकारी संस्थाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको छ।

‘कार्यदलले टुटा किराबारेमा कार्यमूलक अनुसन्धान, परीक्षण र व्यवस्थापनका विधि तयार पार्नेछ । यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याएर किसानको क्षति कम गराउन मातहतका सबै कार्यालयलाई निर्देशन दिन्छौं,’ कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्माले भने। 

प्रकाशित: १९ कार्तिक २०७४ ०६:२७ आइतबार

गोलभेंडाको घातक किरा टुटा एब्सोलुटा फैलँदो