अर्थ

तेस्रो महिनामा राजस्व लक्ष्य पूरा

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा राजस्व असुलीको लक्ष्य महत्त्वाकांक्षी राखे पनि असोजमा आउँदासम्म फेला पारेको छ । सुरुका दुई महिना राजस्व असुली लक्ष्यभन्दा तल थियो।

सरकारले चालु आवमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । यो गत वर्ष (पाँच खर्ब ६५ अर्ब) को तुलनामा २९ प्रतिशतभन्दा बढी हो।

सरकारले चालु आवको बजेटमा पहिलो तीन महिनाका लागि एक खर्ब ४७ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । असोज मसान्तसम्म यो लक्ष्य करिब– करिब पूरा भएको छ।

‘बजेटले असोजसम्म राजस्व उठाउन राखेको लक्ष्य करिब पूरा भएको छ,’ अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख विष्णु नेपालले शुक्रबार नागरिकसँग भने, ‘गैरकर राजस्वमा मात्र थोरै लक्ष्य फेला पार्न सकिएन । अन्य सबै क्षेत्रमा सोचेजस्तै राजस्व असुली भएको छ।’

महाशाखा प्रमुख नेपालका अनुसार प्रायः प्रत्येक वर्ष सुरुका एक दुई महिना मात्र राजस्व असुलीले लक्ष्य फेला पार्न समस्या हुन्छ । त्यसपछि सरकारले तोके अनुसार राजस्व असुली हुने गरेको छ। 

‘चालु आवमा पनि यस्तै समस्या देखिएको मात्र हो,’ उनले भने, ‘अहिलेकै जस्तो अवस्था रहे असोजदेखि लक्ष्य फेला पार्न कुनै समस्या हुने छैन ।’ महाशाखा प्रमुख नेपालले अर्थमन्त्रालयले राजस्व नर्तिनेमाथि कडा निगरानी राखेको हुनाले पनि असुलीमा समस्या नहुने जानकारी दिए।

उनका अनुसार आगामी पुसमा आयकरको ४० प्रतिशत र चैतमा ७० प्रतिशत राजस्व असुली हुने व्यवस्थाले पनि लक्ष्य फेला पार्न गाह्रो छैन । ‘समग्रमा भन्नुपर्दा यस्तै अवस्था रह्यो भने चालु आवको राजस्व लक्ष्य सजिलै फेला पर्नेछ,’ उनले भने।

महाशाखा प्रमुख नेपालले केही वर्षदेखि गैरकर राजस्वमा भने समस्या रहेको जानकारी दिए । सरकारले अन्य राजस्वका दरमा परिवर्तन गरे पनि गैरकरका दर धेरै वर्षदेखि परिवर्तन गरेको छैन । ‘गैरकर त्यत्ति प्राथमिकतामा पनि नपरेको जस्तो देखिएको छ,’ उनले भने, ‘आगामी दिनमा अर्थ मन्त्रालयले यसमा बढी चासो दिने गरी योजना बनाएको छ।’  

सरकारको राजस्वमध्ये सबैभन्दा धेरै असुली गर्ने आन्तरिक राजस्व विभागले पहिलो तीन महिनामा लक्ष्य फेला पारेको छ । विभागले गत आवको तीन महिनाका तुलनामा यो आवमा २४ प्रतिशतले बढी राजस्व संकलन गरेको छ।

विभागका अनुसार सरकारले चालु आवको असोजसम्ममा राजस्व संकलन लक्ष्य ५१ अर्ब ३३ करोड ९९ लाख दिएको थियो । विभागले यो अवधिमा ५१ अर्ब ६२ करोड ९७ लाख रुपैयाँ असुली गरेको छ । यो लक्ष्यको तुलनामा एक सय एक प्रतिशत हो। 

विभागका अनुसार असोजसम्ममा २० अर्ब ७३ लाख रुपैयाँ आयकर असुली भएको छ । यो लक्ष्यको ९७ प्रतिशत हो । यस्तै असोजसम्म मूल्य अभिवृद्धि कर १८ अर्ब ३२ करोड २७ लाख रुपैयाँ उठेको छ । यो लक्ष्यको एक सय तीन प्रतिशत हो । विभागले अन्तःशुल्क पनि लक्ष्यको एक सय तीन प्रतिशत नै असुली गरेको छ । विभागले यो अवधिमा अन्तःशुल्क १२ अर्ब ८१ करोड ९३ लाख संकलन गरेको छ। 

विभागका अनुसार शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः २० करोड २२ लाख र २७ करोड ७९ लाख रुपैयाँ संकलन गरेको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्य सेवा करतर्फ लक्ष्यको ७३ प्रतिशत संकलन भएको हो । गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धिकर २५ प्रतिशत, अन्तःशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । विभागलाई यो वर्ष दुई खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य तोकिएको छ। 

विभागका महानिर्देशक किशोरजंग कार्कीले सुरुका दुई महिना राजस्व संकलनमा केही समस्या भए पनि अहिले लक्ष्य पूरा भएको बताए । उनले तोकिएको तीन सय अर्बको असुली लक्ष्यभन्दा २० प्रतिशत बढी संकलन गर्ने गरी विभागको योजना बनाएको जानकारी दिए।

‘भदौ अन्तिम साताबाट सुरु भएको बजार अनुगमनलाई तीव्र, प्रभावकारी र शसक्त बनाएर लक्ष्यभन्दा धेरै राजस्व उठाउने तयारी गरेका छौं,’ उनले भने।

प्रकाशित: १२ कार्तिक २०७४ ०६:३३ आइतबार

तेस्रो महिनामा राजस्व लक्ष्य पूरा