अर्थ

भेरी बबर्इमा सुरूङ खन्ने मेसिनकाे परीक्षण सफल

भेरी बबईमा प्रयोग गरिएको टनेल बोरिङ मेसिन । तस्बिर : नागरिक

रुद्र खड्का/टेकेन्द्र बस्याल

कोहलपुर/काठमाडौं – नेपालमा पहिलो पटक सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को परीक्षण सफल भएको छ । 

ड्रिलिङ र बलाष्टिङ प्रविधिद्वारा सुरुङ खन्ने प्रचलन रहेको नेपालमा टिबिएम सफल हुने÷नहुनेमा अन्योलता थियो । एक साता अघि राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सनमा ट्रायल परीक्षण गरिएको टिबिएमले दैनिक १५–२० मिटर सुरुङ खनिरहेको आयोजनाले जनाएको  छ । 

यद्यपि आयोजनाले अझै एक साता ट्रायलका लागि नै टिबिएमद्वारा सुरुङ खन्ने जानकारी दिएको छ । ट्रायल सकिएपछि १२ किलोमिटर सुरुङ खन्ने कार्यलाई युद्धस्तरमा तीव्रता दिइने बताइएको छ । भेरी नदीको पानीलाई सुर्खेतको भेरीगंगा–९ चिप्लेदेखि १२ किलोमिटर सुरुङ खनेर बर्दियाको बबईमा झारेर सिँचाइ र विद्युत् निकाल्ने सिँचाइ मन्त्रालयले योजना बनाएको छ । 

 भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि अमेरिकन रोबिन्स कम्पनीले निर्माण गरेको टिबिएम चीनबाट ल्याइएको थियो । चीनबाट टिबिएमलाई नेपाल ल्याई पु¥याउन एक महिना समुद्रमा र एक महिना स्थल मार्ग (कोलकात्तादेखि–निर्माणस्थलसम्म) लागेको थियो । सुरुङ खन्नका लागि टिबिएम जडान गर्न पनि करिब एक महिना नै लागेको थियो ।   

उक्त आयोजनाको निर्माण जिम्मा चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ गु्रप (कोभेक) ले पाएको छ । सन् २०२० सम्म काम सक्ने लक्ष्य लिइएको आयोजनाबाट बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउनुको साथै ४८ मेगावाट विद्युत् निकालिने छ ।  

ठेकेदार कम्पनी कोभेकका प्रशासकीय प्रमुख लि–छ्याङले टिबिएमद्वारा सुरुङ खन्ने काम उत्साहपूर्वक भइरहेको बताए । करिब १० अर्ब ५६ करोड रुपैयाँको उक्त आयोजनाका लागि टिबिएम चिनियाँ कम्पनीले नै खरिद गरेको हो । नेपाल ल्याइपुर्‍याउँदा सम्म खर्च भएको (खरिद र ढुवानी) गरी करिब एक अर्ब ५० करोड रुपैयाँ ठेकेदार कम्पनीले नै बेहोरेको आयोजनाले जनाएको छ । 

आयोजनामा कार्यरत एक इञ्जिनियरका अनुसार ठेकेदार कम्पनीलाई टिबिएमले जति सुरुङ खन्छ त्यसरी नै नाप गरेर भुक्तानी दिइने व्यवस्था मिलाइएको छ । ठेकेदार कम्पनीले नै ठूलो लगानी गरी टिबिएम भित्र्याएकाले आयोजना निश्चित समयमा सकिने अधिकारीहरूले अपेक्षा गरेका छन् । अनाज उत्पादनका दृष्टिकोणले निकै राम्रो मानिने बर्दिया र बाँकेमा सिँचाइ सुविधा विस्तार हुनेबित्तिकै देशमा कृषि क्रान्ति हुनेमा धेरै आशावादी छन् । बर्सेनि खाद्य संकट भोग्दै आएका मध्य र सुदूर पश्चिमका पहाडी जिल्लामा बसोबास गर्ने सर्वसाधारण समेत उक्त आयोजना सम्पन्न भएपछि लाभावन्ति हुने अपेक्षा गरिएको छ । सोही आयोजनाबाट निकालिने विद्युत् भने राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ। 

छ्याङले टिबिएमबाट १२ किलोमिटर सुरुङ खन्न  करिब एक बर्ष ६ महिना बताए ।  टिबिएम प्रयोग नगरिँदा भेरी बबईमा सुरुङ खन्न वर्षौ लाग्ने थियो । छ्याङले अहिले  सुरुङ खन्न टिबिएमलाई दैनिक १८ घण्टा चलाइरहेको बताए ।  टिबिएम सञ्चालनका लागि ९० जना चिनियाँ प्राविधिक र झण्डै ५ सय नेपाली कामदार खटिएका छन् । सुरुङको लम्बाइ र चौडाइ ५.६  मिटर रहने छ। 

सुरुङ निर्माणपछि भेरी नदीको ४० क्युमेक पानी बबईमा मिसाइने छ । पानी आपूर्तिको दृष्टिकोणले भेरी नदीलाई प्राविधिकहरूले उपयुक्त मान्दै आएका छन् । सिँचाइ मन्त्रालयले छ वर्ष अघि नै भेरी बबई आयोजना सुरु गर्ने प्रयास गरे पनि सुरुङ खन्ने उपाय फेला नपर्दा आयोजना अलपत्र पर्दै आइरहेको थियो । भौगोलिक वनावटको दृष्टिकोणले भेरी बबईमा ड्रिलिङ र ब्लाष्टिङ प्रविधिबाट सुरुङ खन्न नसकिने निचोड निकालिएपछि अघिल्लो वर्ष मन्त्रालयले टिबिएम खरिद गर्ने निर्णय गरेको थियो। 

सिँचाइ मन्त्रालयका सहसचिव सागर राई टिबिएमको प्रयोगले नेपालमा अब अरु ठूला आयोजनाका लागि पनि सहज भएको बताउँछन् । यतिखेर कम्तीमा सात ठूला आयोजना टिबिएमको पर्खाइमा रहेको मन्त्रालयका अधिकारीले बताए । विश्वका विभिन्न देशमा  भने ठूल्ठूला विकासे आयोजनाको निर्माणमा टिबिएम प्रयोग गरिने चलन छ । 

भेरी बबईका डाइभर्सनका  लागि सुरुङ खन्नु नै सर्वाधिक कठिन मानिएको छ । नेपालको अहिलेकै प्रविधि प्रयोग गरी उक्त सुरुङ खन्ने हो भने वर्षौ लाग्ने भएकाले अत्याधुनिक मेसिनको प्रयोग गर्नुपर्ने आवश्यकता ठानिएको हो । ‘एकातिर अहिलेकै पद्धतिमा १२ किलोमिटर सुरुङ खन्दा वर्षौं लाग्ने र अर्कोतिर अत्याधुनिक उपकरणको उपयोग गर्ने सोच अनुसार टिबिएमको आवश्यकता ठानिएको हो,’ राईले भने । 
 

प्रकाशित: १० कार्तिक २०७४ ०६:५७ शुक्रबार

भेरी बबर्इमा सुरूङ खन्ने मेसिनकाे परीक्षण सफल