अर्थ

के एनआरएनले लगानीको मुनाफा विदेश लैजान पाउँछन् ?

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएका व्यक्तिले एनआरएनका हैसियतले लगानी भित्रायाउन सक्छन्। तर त्यसका लागि निश्चित कानुनका मापदण्ड भने पुरा गर्नुपर्छ। नेपालको कानुन अनुसार गैरआवासीय नेपाली अर्थात् नन रेजिडेण्ट नेपाली (एनआरएन)ले विदेशी मुद्रा लगानी गर्न कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तिमा दुई वर्ष बसोबास गरेको हुनुपर्छ।

तर विदेशमै बस्ने केही नेपाली नागरिकले भने यस्तो किसिमको लगानी गर्न पाउँदैनन्। नेपाल सरकारबाट खटिएका विदेशस्थित कुटनीतिक नियोग वा महावाणिज्य दूतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिकले एनआरएनका हैसियतले लगानी गर्न पाउँदैनन्।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ लागु हुनुपूर्व गैरआवासीय नेपाली नागरिकले नेपालमा गर्ने लगानीमा विदेशी लगानी स्वीकृत सम्बन्धि कुनै पनि प्रावधान लागु हुँदैनथ्यो। गैर आवासीय नेपालीले पनि नेपाली सरह लगानी गर्न पाउँथे। तर यो ऐन लागु भएपछि विदेशी लगानीकर्ताको परिभाषा फेरियो। यसभित्र गैरआवासीय नेपालीलाई समेत परिभाषित गरेका कारण विदेशी लगानी सम्बन्धि सम्पूर्ण प्रावधान जस्तै विदेशी लगानीको स्वीकृत प्राप्त गरे पश्चात मात्र नेपालमा लगानी गर्न सकिन्छ।

एनआरएनले नेपालमा लगानी गर्दा विदेशी लगानीकर्ता सरह न्यूनतम २ करोड लगानी गर्नैपर्छ। तर, नेपाल सरकार र गैर आवासीय नेपालीहरूको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनी मार्फत नेपालमा लगानी गर्न गैरआवासीय नेपाली (प्राकृतिक व्यक्ति) लाई विदेशी लगानीको न्यूनतम सीमा लागु भने हुँदैन।

यसरी, गैरआवासीय नेपालीले नेपालमा गर्न चाहने लगानी एकैपटक नभई विभिन्न किस्ताबन्दीमा विदेशी मुद्रा भिœयाउन सक्दछन्। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली अनुसार विदेशी लगानी स्वीकृति प्राप्त भएको एक वर्ष भित्र लगानी स्वीकृत प्राप्त रकमको २५ प्रतिशत भिœयाउनु पर्छ। साथै, स्वीकृति प्राप्त विदेशी लगानीकर्ताले स्वीकृत लगानी रकमको कम्तीमा ७० प्रतिशत रकम आफूले लगानी गरेको उद्योग वा व्यवसायबाट व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु अघि र बाँकी ३० प्रतिशत रकम त्यस्तो उद्योग वा व्यवसायबाट व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ भएको २ वर्ष भित्र ल्याउनुपर्ने हुन्छ। गैरआवासीय लगानीकर्ताले शेयर खरिद गरी लगानी गर्ने हकमा स्वीकृती भएको एक वर्ष भित्र त्यस्तो विदेशी लगानी गरिसक्नुपर्ने व्यवस्था रहेको छ।

नेपालको कानुन अनुसार गैरआवासीय नेपालीले लगानीको शेयर पूर्ण वा आंशिक रूपमा बिक्रि गरी तथा लगानीबाट आर्जित रकम प्रचलित नेपाल कानुन बमोजिम लाग्ने सबै कर भुक्तान गरी नेपालबाट फिर्ता लैजान पाउँछन्। एनआरएनले प्रत्यक्ष विदेशी लगानी गर्न पाउने व्यवस्था भएपनि धितोपत्र बोर्डमा सूचिकृत शेयरहरूको खरिदबिक्री गर्न पाउने भने स्पष्ट व्यवस्था छैन। धितोपत्र खरिदबिक्रीका लागि डीम्याट खाता खोल्न अनिवार्य छ। सो खाता खोल्न नेपालको स्थायी लेखा नम्बर (प्यान नंं.) अनिवार्य पेश गर्नुपर्ने भएकाले गैरआवासीय नेपाली नागरिकले धितोपत्र बजारमा लगानी गर्ने सम्बन्धमा अस्पष्टता भएको हो।

धितोपत्र बोर्ड नेपालले हालै धितो पत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा केही खुकुलो प्रावधान ल्याएको छ। नियमावलीको दफा ४१.ख मा नेपाल सरकार र एनआरएनको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार सम्बन्धी परियोजनामा शेयर, वण्ड वा डिवेन्चरमा लगानी गर्ने निष्काशन गरिएको धितोपत्रको कारोबार विदेशी नागरिकता प्राप्त वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीबीच मात्र हुने व्यवस्था ल्याएको छ। यसबाट गैरआवासीय नेपालीले पनि नेपालमा धितोपत्र बजारमा लगानी गर्न सक्ने वातावरण बनेको छ।  

यस सम्बन्धी भिडियाे‌ :

प्रकाशित: १९ आश्विन २०८० १०:५९ शुक्रबार

के एनआरएनले लगानीको मुनाफा विदेश लैजान पाउँछन् ? दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)