अर्थ

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। विश्ब बैंकले ६/६ महिनामा सार्वजनिक गर्ने अर्धवार्षिक कन्ट्री अपडेट अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको हो।

गत आर्थिक वर्षमा नेपाल सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाउने र पर्यटनक्षेत्रमा आएको उत्साहकै कारणले सन् २०२४ मा नेपालको अर्थतन्त्रमा सुधार हुँदै ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकले गरेको हो।

नेपाल सरकारले भने चालु आवको बजेटमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको छ। विश्व बैंकका अनुसार सन् २०२३/२४ मा भारतमा ६.३ प्रतिशत, बंगलादेशमा ५.६ प्रतिशत, मालदिभ्समा ५.२ प्रतिशत आर्थिक वृद्धि हुने छ।

त्यसैगरी भुटानमा ४ प्रतिशत र पाकिस्तानमा भने १.७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर भने ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

‘नेपाल चुनौतीका बाबजुद हरित पूर्वाधार, लचिलो र समावेशी विकासलाई अघि सार्दै आर्थिक पुनरुत्थानतर्फ अग्रसर भइरहेको छ। यसले पक्कै पनि अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरिन्छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद (जेर्भोसले भने, ‘अहिले नेपालको अर्थतन्त्रको बाह्य सूचकमा धेरै सुधार आएको छ। यसले नेपालले विदेशी मुलुकमा निर्यात गर्ने प्रतिस्पर्धी क्षमतालाई समक्ष बनाएर अघि बढ्न आवश्यक छ। यसका साथै घरेलु उत्पादनको उत्पादकत्वलाई वृद्धि गरेर नेपालको विदेशी मुलुकसँगको मुद्रास्फीति अन्तर घटाउनेतर्फ अग्रसर हुनुपर्ने देखिएको छ।’

विश्व बैंकले अनिश्चित मौसमको कारणले कृषिक्षेत्रको आर्थिक वृद्धि कम हुने सम्भावना पनि उच्च रहेको औंल्याएको छ। अर्काेतर्फ भारतले खाद्यान्नमा प्रतिबन्ध लगाएसँगै नेपालमा खाद्यवस्तुको मूल्यमा उच्च मुद्रास्फीति (मूल्य वृद्धि) हुन सक्नेतर्फ पनि ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १७ आश्विन २०८० ०५:३१ बुधबार

विश्व बैंक नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण