अर्थ

नेपाल वेयर हाउजिड्ग कम्पनीलाई आइपिओ निष्काशन गर्न अनुमति

नेपाल वेयर हाउजिड्ग कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १३ लाख ६५ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको हो। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्ट्याई बाकी रहेको सर्वसाधारणहरूको लागि निष्कासन गर्नेछ।

कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरी संचालनमा ल्याएको र कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भइरहेको र सो समेत पौष महिना सम्ममा संचालनमा आउने कम्पनीले बताएको छ।

खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु नै कम्पनी संस्थापन गर्नुको मुख्य उद्देश्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले बताए।

प्रकाशित: १४ आश्विन २०८० १४:१२ आइतबार