अर्थ

मूल्य घट्दा अलैंची किसान र व्यापारी चिन्तित

अलैंची सुकाउँदै धनकुटाका किसान । तस्बिर : सिद्धराज

धनकुटा – अलैंचीको मूल्यमा भारी गिरावट आएपछि किसान र व्यापारी चिन्तित बनेका छन् । प्रतिमन (४० केजी) अलैंचीको मूल्य एक लाख १० हजारबाट घटेर ३० हजार रुपैयाँमा झरेको छ। 

छथर जोरपाटी–५ परेवादिनका किसान बमबहादुर लिम्बुले अलैंचीको मूल्य कम भएका कारण कामदारको ज्यालासमेत उठाउन मुस्किल परेको बताए । १२ रोपनी क्षेत्रफलमा लगाएको अलैंची खेतीबाट वार्षिक दुई मन (८० केजी) सम्म अलैंची बेचेर दुई लाखसम्म कमाए। 

तर यो वर्ष मुस्किले ६० हजार कमाएको लिम्बुले बताए । यो रकमले कामदारको ज्यालासमेत नउठेको उनले बताए ।  तिहार खर्चका लागि धनकुटाको हिलेमा अलैंची बेच्न आएका तेह्रथुम छथर गाउँपालिका डङडङेका छिरिङ शेर्पाले हातमा पैसा देखाउँदै भने, ‘पहिले एक मनको लाख रुपैयाँसम्ममा घरबाटै बेचियो । अहिले तीन मन ल्याउँदासमेत लाख रुपैयाँ पुगेन ।’ आम्दानी घटेकाले अलैंची खेतीमा मन मर्दै गएको शेर्पाले बताए। 

नेपालको अलैंची भारतीय बजारमा बिक्री गर्ने व्यापारीसमेत मूल्य घट्दा खुसी छैनन् । हरेक वर्ष मूल्यमा आएको गिरावटले व्यापार चौपट भएको छ । गत वर्ष खरिद गरेका अलैंची बिक्री भएको छैन । यो वर्ष पनि मूल्य बढ्न सकेन । त्यसैले किसान र व्यापारीलाई घाटा भएकोे धनकुटा हिलेका व्यापारी बाबुराम राईले बताए । दुई वर्षअघि प्रतिमन ९५ हजारले किनेको सामान ५५ हजारमा बेच्नुपर्दा २५ लाख रुपैयाँभन्दा बढी घाटा लागेको उनले बताए ।

नेपालबाट भारत जाने अलैंचीमा विभिन्न नक्कली अलैंची मिसावट भएको पाइएपछि मूल्यमा गिरावट आएको अनुमान व्यापारीको छ । नेपालमा उत्पादन भएको अलैंचीमा उस्तै देखिने चुरुम्फा र मेथी भुटेर मिसाएको पाइयो । त्यसैले एक्कासी महंगो मूल्यमा किनेर भण्डारण गरेको अलैंची कम मूल्यमा बेच्नुपर्दा धनकुटाका १४ जना अलैंची व्यापारीलाई २० करोडभन्दा बढी घाटा भएको अलैंची व्यवसायी महासंघ धनकुटा शाखाका अध्यक्ष इन्द्र तितुङले बताए । नेपालमा अलैंचीको गुणस्तर जाँच गर्ने क्वारेन्टाइन र नेपालमा उत्पादित अलैंचीको विश्व बजारमा आफ्नै जात नभएकाले समेत समस्या परेको तितुङले बताए । व्यापारीका अनुसार भारतीय व्यापारीले नेपालको अलैंची ३७ हजार रुपैयाँसम्ममा खरिद गर्दै आएका छन् । त्यसैले किसानबाट २८ देखि ३२ हजारसम्म खरिद गर्दै आएको व्यापारीले बताए ।  

धनकुटामा केही वर्षदेखि अलैंची खेती फस्टाउँदै गएको थियो । किसानले धान फल्ने खेतमा अलैंची रोप्न थालेका थिए । तर मूल्यमा आएको गिरावटले किसान निराश बन्दै गएका छन् । जिल्ला कृषि विकास कार्यालय धनकुटाले दिएको तथ्यांकअनुसार दुई सय ४० हेक्टरमा अलैंची खेती हुने गरेको छ । धनकुटाबाट गत वर्ष २६ करोड १० लाख बराबरको एक सय ४५ मेट्रिक टन अलैंची निर्यात भएको थियो । 

प्रकाशित: ३० आश्विन २०७४ ०६:४८ सोमबार

घट्दा अलैंची किसान व्यापारी चिन्तित