अर्थ

मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने समझदारी

नेपालमा ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल कारखाना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र मलेसियाको रिनिकोला एसडिएन विएचडीका प्रबन्ध निर्र्देशक बोमहिदी अदेलालीबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो।

बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा हरित अवधारणामा आधारित रही मल उत्पादन गर्ने उद्देश्य राखेको यस परियोजनाले नेपालको विद्युत् लगायतका आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

‘विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दिगो रूपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्नेछ,’ उनले भने, ‘तोकिएको समयभित्र सम्भाव्यता अध्ययनसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गर्दछु।’

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार रिनिकोलाले ऊर्जाको रूपमा विद्युत् शक्तिको उपयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्न २०७९ पुस १४ गते प्रस्ताव पेश गरेको थियो।

बोर्डको कार्यालयले भने २०७९ चैत ३० मा सम्पन्न ५३ औं बैठकले प्रस्तावक मलेसियन कम्पनीलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो।

गत भदौ ८ को ५५ औं बोर्ड बैठकले प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ। समझदारीपत्रको प्रावधानबमोजिम प्रस्तावक रिनिकोलाले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत परियोजनाको सम्भाव्यता प्रतिवेदन बोर्डको कार्यालयमा पेश गर्नुपर्नेछ।

तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरेर ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल तयार पार्ने बताइएको छ। करिब दुई सय ६० मिलियन अमेरिकी डलर अनुमानित परियोजना लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार ६ सय मेट्रिक टन ग्रिन एमोनिया उत्पादन गरिनेछ। त्यसैगरी दुई लाख ८६ हजार नौ सय ७५ मेट्रिक टन ग्रिन क्याल्सियम एमोनिया नाइट्रेट मल उत्पादन हुने प्रस्ताव गरिएको छ।

प्रकाशित: ११ आश्विन २०८० ०२:१२ बिहीबार

मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने समझदारी विस्तृत परियोजनाको सम्भाव्यता प्रतिवेदन बोर्ड