आर्थिक वर्ष २०८०/८१ मा सरकारका दुई वटा अपेक्षा छन्। पहिलो आर्थिक गतिविधि बढ्छ र दोस्रो त्यसबाट व्यापार वृद्धि हुन्छ। साउन र भदौ महिनाको तथ्याङले सरकारका दुई वटै अपेक्षा पुरा हुने संकेत देखिदैन्।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आव २०८०/८१ को पहिलो दुई महिना (साउन–भदौ) मा आयात ५.०६ प्रतिशत, निर्यात ७.७९ प्रतिशत र कुल वैदेशिक व्यापार ५.३२ प्रतिशतले घटेको छ।
व्यापार घाटा ४.४७ प्रतिशतले घटेको देखिन्छ। व्यापार घाटा घट्नुलाई राम्रो मानिए पनि निर्यात घट्नुलाई राम्रो मानिँदैन। नेपाली उत्पादनको निर्यात घट्नु शुभ संकेत मानिँदैन।
बजारमा उत्पादन र उपभोग घटेकाले आयातमा गिरावट आएको र त्यसले आयात घटेको विश्लेषण अर्थविज्ञहरुको छ। आयात, निर्यात घट्नु अर्थतन्त्र चलायमान नभएको संकेत भएको पूर्वअर्थसचिव शिशिरकुमार ढुंगानाले बताए।
‘अर्थतन्त्रमा संकुचन आएका कारण वैदेशिक व्यापार प्रभावित भएको देखिन्छ,’ ढुंगाना नागरिकन्यूजसँग भने, ‘रेमिटेन्स बढ्दा खपत बढ्नुपर्ने भए पनि बढेन।’
विभागका अनुसार गत आवको साउन र भदौ महिनामा दुई खर्ब ७३ अर्ब ५९ करोड रूपैयाँबराबरको वस्तु र सामान आयात भएको थियो। चालु आवको सोही अवधिको तुलनामा ५.०६ प्रतिशतले आयातमा गिरावट भएर दुई खर्ब ५९ अर्ब ७४ करोड रूपैयाँबराबरको वस्तु तथा सामान आयात भएको छ।
विदेशी मुलुकबाट आयातित वस्तु र सामानको हिस्सा घटेसँगै वैदेशिक व्यापार घाटा पनि कम भएको छ। भन्सार विभागका अनुसार गत आवको दुई महिनामा मुलुकको व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड रूपैयाँ बराबर थियो। चालु आवको दुई महिनामा आयात ह्वातै घटेपछि व्यापार घाटाको अंश पनि ४.७४ प्रतिशतले घटेर दुई खर्ब ३३ अर्ब ३० करोड रूपैयाँमा सीमित भएको छ।
आयात निर्यात प्रभावित हुँदा त्यसको असर राजस्वमा पर्ने ढुंगानाले बताए। ‘वैदेशिक व्यापारको संकुचनले बहुक्षेत्रमा प्रभाव पर्छ,’ उनले भने, ‘राजस्व घट्दा खर्च चलाउन समस्या पर्छ।’
प्रकाशित: ८ आश्विन २०८० ०८:४७ सोमबार