अर्थ

प्रधानमन्त्रीको चीन भ्रमणः खुल्ला त कोरला नाका ?

स्थानीय प्रशासन भन्छः हामी तयारीमा छौं

कोरला नाका।

प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणमा छन्। प्रधानमन्त्री दाहालको चीन भ्रमणसँगै गण्डकी प्रदेशका बासिन्दाले भने एउटा अपेक्षा राखेका छन्। त्यो अपेक्षा हो–मुस्ताङको कोरला नाका खुल्ने। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाका खुल्ने हो भने त्यसले समग्र नेपालको अर्थतन्त्रमा बलियो अर्थ राख्ने स्थानीयको भनाई छ।  

प्रधानमन्त्री दाहाल चीन जानुअघि नै मुस्ताङको कोरला नाका खुलाउने विषयलाई भ्रमणको एजेन्डामा समेट्न पोखरेलीले सुझाएका पनि थिए। यतिबेला प्रधानमन्त्री भ्रमणमा रहे पनि नाका खुल्ने वा नखुल्ने भन्ने अहिलेसम्म यकिन भएको छैन। तर, स्थानीयले भने लामो समयदेखि नाका खुलाउनका लागि माग गर्दै आएका छन्। नाका खुलाउन सक्ने हो भने द्विपक्षीय व्यापार बढाउने र त्यसले समग्र अर्थतन्त्र प्रवर्द्धनमा सघाउने स्थानीयको भनाई छ।  

मुस्ताङको माथिल्लो क्षेत्रमा पर्ने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ भन्छन्, ‘यो बेला प्रधानमन्त्री दाहाल चीन जानुभएको छ। यही बेलामा कोरला नाका खुलाउने गरी सम्झौता भइदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो। स्थायी रुपमा नसके पनि तत्कालका लागि अस्थायी रुपमा नाका खोलिदिए हुन्थ्यो भन्ने अपेक्षा हो।’

उनका अनुसार नाकाको तिब्बत तर्फ सबै संरचना तयार भएपनि नेपालतर्फ संरचना कमजोर छन्। तर, प्रधानमन्त्री चीन गएको बेला सम्झौता गरेर नाका खुलाउने हो भने त्यसले मुस्ताङलाई मात्र नभई समग्र गण्डकी प्रदेशको समृद्धिमा सघाउने उनले बताए। ‘नाका खुलाउने सुखद् खबरको पर्खाइमा छौ। स्थानीय सरकारले मात्र सक्ने होइन। प्रधानमन्त्री दाहालसँगको हाम्रो अपेक्षा नाका खुलोस् भन्ने हो,’ उनले भने, ‘नाका खुलाउने र नियमित रुपमा व्यावसायिक गतिविधि गराउन सक्ने हो भने त्यसले मुलुककै अर्थतन्त्रमा टेवा दिनेछ।’

नाका नजिकै तिब्बततर्फ बनाइएको पूर्वाधार। फाइल तस्बिरः नागरिक 

पछिल्लो समय धेरै युवा बिदेसिएको बेला यो नाका खुलाउने आवश्यकता अझै बढी रहेको उनले बताए। किनकि नाका खुलाएर व्यवसाय बढाउन सकियो भने त्यसले व्यापार प्रवर्द्धन हुने र युवापुस्तालाई स्वदेशमै रोक्न सकिने अपेक्षा रहेको उनले बताए। ‘उपल्लो मुस्ताङका बासिन्दाको लामो समयदेखिको माग नै नाका खुलाउने भन्ने छ। तर, हाम्रो मात्र मागले सम्भव नहुने भयो,’ उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पनि प्रधानमन्त्री दाहालकै भ्रमण अवधिमा कोरला नाका खुलाउनेबारे सम्झौता हुनसक्ने सम्भावना रहेको बताउँछन्। ‘नाका खुल्ने सम्भावना छ। तर, त्यसका लागि धेरै नै काम नेपालतर्फबाट हुनुपर्छ,’ मुल्मी भन्छन्, ‘नेपालतर्फको संरचना कमजोर छन्। ती संरचना तत्काल बनाउनुपर्छ। त्यसबाहेक पहुँच मार्ग बिस्तारमा पनि उत्तिकै प्राथमिकता दिनुपर्छ।’ अहिलेसम्म नेपालको तयारी कमजोर रहेको तर चीनले आफ्नो क्षेत्रमा भने पर्याप्त काम गरेको उनले बताए।

‘चीनले आफ्ना संरचना बनाएको छ। तर, नेपालमा बाँकी छन्,’ उनले भने, ‘केही समस्यामा बाबजुत पनि नाका खुल्ने अपेक्षा भने छ। तर प्राविधिक रुपमा के र कसो गर्ने, सडक संरचना, पुलपुलेसा बनाउने बारे भने नेपाल सरकार गम्भीर हुनुपर्छ। किनकि कोरलासम्मको पहुँच निकै नै कमजोर छ।’ नेपालतर्फबाट नाका खुलाउनुपर्ने मात्र भनिरहेको तर, आफ्नै संरचना बनाउन दबाब दिन नसकेको उनले बताए।  

‘हामीले नाका खोल्नुपर्‍यो मात्र भन्छौ, तर, हाम्रै तयारी कमजोर छ। नाका खुलाउन महत्त्व दिने हो भने हामीले हाम्रैतिर सुधार गर्नुपर्छ। नाका खुलाएर पनि चलेन भने राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘खोल्नुपर्‍यो भनेर मात्र भएन, हामीले गर्नुपर्ने तयारी धेरै नै छ। केहीगरि नाका खुल्यो भने त्यसलाई भरपुर उपयोग गर्न सक्नुपर्छ। दिन र लिन सक्नुपर्छ। चीन निर्यात गर्न तयार छ। तर, हामी त्यो अनुसार उभिन सकेका छैनौ। बोर्डर खुलाएर जे पनि पठाउने र ल्याउने भन्ने हुँदैन।’  नाका खुल्यो भने नेपालतर्फको जिम्मेवारी निकै नै बढ्ने उनले बताए।

मुस्ताङ भन्सार कार्यालयका एक जना कर्मचारीका अनुसार कोरला नाकामा वर्षमा दुई पटक लाग्ने द्विपक्षीय व्यापार मेला पनि पछिल्लो केही वर्षदेखि लाग्न सकेको छैन। कोरोना भाइरस संक्रमण सुरु भएपछि नाकामा लाग्ने मेला रोकिएको थियो। 

अन्तरदेशीय त्यो व्यापार मेलाको समन्वय दुई देशका प्रशासन तथा सुरक्षा निकायको समन्वयमा नाकाबाट १० किलोमिटर पर तिब्बततर्फ लाग्ने गरेको थियो। तर कोरोना संक्रमण सुरु भएपछि विगत चार वर्षदेखि त्यो मेला पनि लाग्न छाडेको छ। त्यो व्यापार मेलामा नेपालले आयात भन्दा पनि निर्यात गर्ने बस्तु धेरै पाउँथ्यो। तर, अहिले मेला नै लाग्न छाडेको छ।

स्थानीयले सिजनल भएपनि मेला आयोजना गर्न अनुरोध गरिरहे पनि चिनियाँ पक्षले भने सधैँका लागि नाका खुलाउने इच्छा राख्दा व्यापारिक मेला पनि लाग्न सकेको छैन। ती कर्मचारीका अनुसार अहिले नेपालतर्फ भन्सार भवन मात्र छ। त्यसबाहेक बोर्डर आउटपोष्ट (बिओपी) पनि छ। ‘नेपाल सरकारको तयारी खासै छैन। यतिसम्मकी भन्सारमा समेत पर्याप्त कर्मचारी छैननन,’ ती कर्मचारीले भने, ‘धेरै नै काम नेपालतर्फ हुनुपर्छ।’

नाका खुलाउन तयारी गर्नु

कोरला नाका खुलाउनेबारे तयारी गर्न भन्सार विभाग र गृह मन्त्रालयले समेत स्थानीय प्रशासनलाई अनुरोध गरेका छन्। प्रधानमन्त्री दाहाल चीन भ्रमणमा गएको बेला नाका खुलाउने सम्भावना रहेको भन्दै त्यसै अनुसार तयारी गर्न आग्रह गरेको स्थानीय प्रशासनको भनाई छ। 

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेत भन्छन्, ‘गृह मन्त्रालय र भन्सार विभागले नाका खुलाउनेबारे सम्झौता हुनसक्ने भएकोले आवश्यक तयारी गर्नु भनेका छन् । हामी आफूसँग भएको क्षमता र आकार अनुसारको तयारी गरेका छौ।’

बस्नेतका अनुसार अहिले भन्सारको नाममा एक हजार रोपनी जग्गा छ। अहिले त्यो जग्गाको माटोको परीक्षण भइरहेको छ। कोरला नाकाबाट झन्डै १७ किलोमिटर वर बिओपी रहेको छ। ‘तीब्बततर्फ पर्याप्त संरचना बनेका छन्। तर, नेपालतर्फ पूर्वाधार बनाउन बाँकी छ,’ बस्नेतले भने, ‘आवश्यक परेमा हामीले काम गर्नुपर्छ। गृह मन्त्रालय र भन्सार विभागले तयारी गर्न पनि भनेको छ। हामीले सकेको काम गर्न तयार छौं । प्रधानमन्त्रीको यही भ्रमणमा सम्झौता भएमा नाका खुल्न सक्छ। हामी आवश्यक काम गर्न तयार छौं।’

प्रकाशित: ७ आश्विन २०८० १०:१२ आइतबार

चीन भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल मुस्ताङको कोरला नाका