अर्थ

दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना (साउन–भदौ)मा करिब १८ अर्ब रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

विभागका अनुसार भदौमा पाँच अर्ब ८८ करोड ८५ लाख रूपैयाँ र साउनमा करिब ११ अर्ब ९६ करोड रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। भदौसम्म नयाँ उद्योगमा १४ अर्ब ६५ करोड रूपैयाँ र सेयर पर्चेज एग्रिमेन्ट (एसपिए)मा तीन अर्ब २० करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ।

भदौमा मात्र ५१ वटा नयाँ उद्योगमा दुई अर्ब ७२ करोड २४ लाख रूपैयाँ र एसपिए र एसएसएमार्फत् ११ वटा उद्योगमा तीन अर्ब १६ करोड ६१ लाख रूपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ। भदौसम्म विभागमा दर्ता भई लगानी प्रतिबद्धता जनाएका उद्योगबाट पाँच हजार पाँच सय दुई जनाले रोजगारी पाउने छन्।

सबैभन्दा बढी लगानी पर्यटन उद्योगमा रहेको छ। भदौसम्म आएको लगानी प्रतिबद्धतामध्ये ५३.४८ प्रतिशत पर्यटन क्षेत्रमा, सेवा क्षेत्रमा ४४.३९ प्रतिशत, म्यानुफ्याक्चरिङमा ९.८ प्रतिशत, पूर्वाधारमा २.२ प्रतिशत, आइसिटीमा २.२ प्रतिशत, कृषिमा १.१ प्रतिशत रहेको छ।

चालु आवको भदौसम्ममा विदशी लगानीमा सञ्चालनमा रहेका उद्योगले कमाएको नाफाबापत २५ करोड सात लाख रूपैयाँ लाभांश लैजान प्रस्ताव गरेका छन् ।

प्रकाशित: ७ आश्विन २०८० ०४:१५ आइतबार

मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्था दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब