माल्भिका अग्रवालले ‘बुनेको: कश्मीरी टेल्स’ अनलाइन फेसन सप सञ्चालनमा ल्याएकी छन्। बुधबार एक समारोहमार्फत उनले ‘बुनेको: कश्मीरी टेल्स’ को ग्राण्ड ओपनिङ गरेकी हुन्।
ओपनिङ समारोहमा विभिन्न डिजाइनहरू प्रदर्शन गरिएको थियो। स्कार्फ, ट्युब टप, स्वेटर, सल, एक दर्जन बढी डिजाइनका पहिरनहरू प्रदर्शनीमा राखिएको थियो। एमएस ग्रुपका अगुवा सुमित अग्रवालकी छोरी माल्भिकाले सानैदेखिको रुचिअनुसार आफूले फेसनमार्फत मुलुकमा केही फरक गर्न चाहेको जानकारी उक्त अवसरमा दिइन्।
सञ्चालिका अग्रवालले आफूलाई सानैदेखि फेसनमा औधी रुचि भएको र ‘बुनेको: कश्मीरी टेल्स’ को सुरुवात मास्टर्सको थेसिस गर्दा नै भएको बताइन्। उनले ‘बुनेको: कश्मीरी टेल्स’मार्फत नेपाली फेसन अन्तर्राष्ट्रिकरण गर्न जुटेको समेत बताइन्। माल्भिकाले बेलायतबाट फेसन स्नातक र इटालीबाट फेसनमै स्नातकोत्तर गरेकी छन्।
प्रकाशित: ५ आश्विन २०८० ०२:१४ शुक्रबार