अर्थ

भाइबर आउटबाट अन्य सेवामा फोन गर्नु ‘गैरकानुनी’

काठमाडौं, असोज ११- मुलुकमा भाइबर आउट (आइपी) सेवाबाट मोबाइल र ल्यान्डलाइन सेवामा फोन गर्नु गैरकानुनी भएको सरकारले बताएको छ । मुलुकभित्र भाइबर आउटबाट अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीका मोबाइल र ल्यान्डलाइनमा फोन गरेको भेटिएको भन्दै यो दूरसञ्चार ऐन, नियम विपरीत भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय भाइबर आउट एप्लिकेसनबाट मोबाइल, ल्यान्डलाइनमा फोन गर्ने चलन बढ्दै गएको छ । उक्त फोन गर्न रिचार्ज गर्नुपर्छ भने इन्टरनेटबिना प्रयोग गर्न सकिन्छ । ‘भाइबर आउटबाट मोबाइल वा ल्यान्डलाइनमा फोन गर्नु दूरसञ्चार ऐन, नियम विपरीत हो,’ नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘यसो गरेमा कानुन अनुसार कारबाही हुन्छ ।’
दूरसञ्चार निर्देशिका अनुसार आइपी (भिओआइपी)बाट आइपीमा फोन गर्न पाइन्छ तर यसबाट अन्य सेवामा फोन गर्न पाइँदैन । भाइभर आइपीबाट मोबाइल तथा ल्यान्डलाइन सेवामा फोन गरेको भेटिएकाले यसो नगर्न प्राधिकरणले मंगलबार सूचना समेत निकालेको छ ।
प्राधिकरणले सार्वजनिक सूचनामा ‘नेपालभित्र भाइबर आउट प्रयोग गरी नेपालका दूरसञ्चार सेवा प्रदायकहरूको मोबाइल नेटवर्क तथा ल्यान्डलाइन टेलिफोनमा फोन सम्पर्क÷कुराकानी हुने गरेको बुझिन आएकोले र यस प्रकारको कार्य दूरसञ्चार ऐन, नियम विपरीतको कार्य भएकाले यस्तो कार्य नगर्न÷नगराउनु हुन सबैलाई सूचित गरिन्छ’ उल्लेख छ । साथै, सूचनामा भाइबर आउट प्रयोग गरेको वा गराइएको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत जनाएको छ । भाइभर आइपीबाट ल्यान्डलाइन र मोबाइलमा कल गर्ने गरेको भेटिएको र गुनासो आएकाले प्राधिकरणले त्यो रोक्न भनेको छ ।
अर्यालले कानुन त आइपीबाट मोबाइल वा ल्यान्डलाइन फोनमा कल गर्न नपाइने भएकाले गैरकानुनी तथा अनधिकृत काम गर्न, नगराउन सूचना निकालिएको बताए ।  नेपालभित्र भाइबर आउटबाट कल गर्न रोकिएको हो । नेपालभित्र भाइबर आउटबाट मोबाइल वा ल्यान्डलाइनमा फोन गर्दा शुल्क भने महँगो पर्छ ।
भाइबर आउट विदेशबाट सञ्चालन भएको व्यवसाय हो । यसको सर्भर विदेशमा भएकाले यसमा नेपालबाट हुने कारोबारमा कर आउँदैन । सरकारलाई कुनै कर नआउने र आम्दानी गुम्ने भएकाले यो रोकिएको प्राधिकरणले जनाएको छ । सरकारलाई राजस्व नआउने र अन्य सेवा प्रदायक कम्पनीको गेटवे प्रयोग गर्ने भएकाले उनीहरूलाई समेत घाटा हुने देखिन्छ ।  
नेपाल टेलिकमको पछिल्लो वर्षमा अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घट्नुमा भाइबर आउट जस्ता आइपी प्रयोगको पनि हात हुन सक्ने टेलिकमले आँकलन गरेको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भाइबर आउटले कानुन विपरीत टेलिकमको ‘गेटवे’ प्रयोग गरेर सेवा सञ्चालन गरेको देखिएको बताइन् । ‘टेलिकमको स्वीकृति नलिई र आवश्यक शुल्क नतिरी टेलिकम गेटवे प्रयोग गरेको देखिएको छ,’ वैद्यले भनिन्, ‘स्वीकृति लिएर, इन्टरकनेक्सन शुल्क तिरेरमात्र यस्तो सेवा प्रयोग गर्न पाइन्छ ।’
प्राधिकरणका अनुसार भाइबर आउटले अहिलेसम्म कुनै पनि कानुनी स्वीकृति लिएको छैन । आइएलटी लाइसेन्सबिनानै उसले सेवा सञ्चालन गरेको प्राधिकरणको भनाइ छ ।
भाइबर आउटले २०७२ वैशाख १२ गते भूकम्प गएपछि सर्वसाधारणको सेवाको लागि भनेर भाइबर आउटबाट मोबाइल वा ल्यान्डलाइनमा फोन गर्न निःशुल्क बनाएको थियो । त्यो बेलामा उसले घोषित रुपमै सर्वसाधरणलाई सुविधाका लागि भनेर निःशुल्क कल सुविधा दिएको थियो । आपतको बेलामा सुरु गरेको भाइबर आउटको सुविधालाई निरन्तरता दिएको वैद्यले बताइन् ।
जानकारहरु भूकम्पको बेला भाइबरले परीक्षण गरेको र त्यो राम्रो हुँदै गएपछि सेवालाई निरन्तरता दिएको बताउँछन् । भाइबर आउट जस्ता सेवा भर्खर सुरु भए पनि भविष्यका लागि भने मुलुकमा सञ्चालन भइरहेका दूरसञ्चार सेवा प्रदायक कम्पनीको लागि राम्रो संकेत नभएको जानकार बताउँछन् । मुलुकमा सञ्चालन भइरहेका कम्पनीहरूले बर्सेनि करोडौं रुपैयाँ राजस्व तिरिरहेको बेला ओटिटी (ओभर द टप) सेवाहरू बढ्नु व्यवसायको लागि राम्रो नभएको उनीहरूको बुझाइ छ ।

प्रकाशित: ११ आश्विन २०७४ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App