अर्थ

सल्यानमा खुद्रा पैसाको अभाव

रुकुम – नेपाल बैंक लिमिटेड जिल्ला शाखा सल्यानमा खुद्रा पैसाको अभाव भएको छ । यहाँ शुक्रवारदेखि खुद्रा रुपैयाँको अभाव भएको हो।

दशैँका लागि यस वर्ष दुई करोड रुपयाँ मात्र जिल्ला आएको थियो । उक्त रुपैयाँ शुक्रवार सकिएको शाखा प्रबन्ध सतिश शाहीले जानकारी दिए । उनका अनुसार गत वर्षहरूमा यस भन्दा अझ बढी समस्या हुने गरेको थियो । १५ सय उपभोक्तालाई लक्षित गरी यस वर्ष खुद्रा रुपयाँ जिल्ला आएको शाखा प्रबन्धक शाहीले जानकारी दिए। ‘जिल्लामा आठ करोड रुपैयाँ आएपनि दुई करोडको मात्र खुद्रा रुपैयाँ आयो’ प्रबन्धक शाहले भने, ‘अरु सबै पाँच सय र हजारका नोटहरुमात्रै छन् ।’ दुई करोड खुद्रा रुपैयाँले मात्रै जिल्लाको माग धान्न नसक्ने भन्दै उनले तिहारमा यसको दायरा बढाउनु पर्ने बताए।

यस वर्षको दशैँका लागि आएको खुद्रा रकम कम भएको उनले बताए । खुद्रा रुपैयाँका लागि नेपाल बैंक लिमिटेडमा पुगेका उपभोक्ताहरूखाली हात घर फर्कन बाध्य छन् । हाल जिल्लामा पाँच, दश, बीस, पचास र सय रुपयाँका नोटहरुको अभाव भएको नेपाल बैंक लिमिटेड शाखा सल्यानले जनाएको छ । खुद्रा रुपैयाँको अभाव भए संगै यहाँका वासिन्दाहरू खुद्रा बनाउन बजारमा सञ्चालित पसलहरू धाउन थालेका छन् । पसलमा समेत खुद्रा रुपैयाँ नपाइदा यहाँका सर्वसाधारणहरुले हैरानी खेप्नु परेको छ । ‘खुद्रा गराउन बैंकमा आए तर पाएन्’ शारदा नगरपालिका वडा नं. ८ का लालसिंह जैसीले भने, ‘यस वर्ष खुद्रा रुपयाँ नहुँदा समस्या हुने भयो ।’ बैंकले जिल्लाको माग धान्ने गरि खुद्रा रुपयाँ ल्याउनु पर्ने जैसीले बताए।

वर्षेनी खुद्रा रुपैयाँको अभाव खेपेका यहाँका वासिन्दाहरूले जसरी पनि खुद्रा रकम उपलब्ध हुनु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंक नेपालगञ्जले खुद्रा रुपैयाँ थप गरे कारोबार गर्न समस्या नहुने शाखा कार्यालयले जनाएको छ । जिल्लामा सञ्चालित अन्य बैंकहरुमा समेत खुद्रा रकमको अभाव छ।

कारोवार बढ्यो

दशैँ नजिकिदै गरेपछि जिल्लाका सबै बैङ्क तथा वित्तिय संस्थाहरूको कारोवार चार गुणाले वृद्धि भएको छ। दशैँका लागि रकम निकाशा गर्ने र ट्रान्सफर गर्ने क्रम बढेसंगै उनीहरुको कारोबार चार गुणाले वृद्धि भएको हो।

दशैँका लागि पैसा खुद्रा बनाउने, तलब तथा जम्मा पैसा निकासीको कामको बढी चाप भएको बैंकहरूले बताएका छन्। हाल जिल्लामा दर्जन भन्दा बढी साना तथा ठूला बैंकहरू सञ्चालित छन् । जिल्लाका मनि ट्रान्सफरहरुमा पनि भीड बढेको छ । बाहिर जिल्लामा घर भएका कर्मचारी, सेना र प्रहरीहरूले दशैँमा घर जान नसकेपछि रकम पठाउने गरेका छन्। मनि ट्रान्फरहरूले दैनिक चार करोड बढीको कारोबार गर्ने गरेको उनीहरूले बताएका छन् । विदेश मार्फत पनि रकम आउने हुँदा यहाँ कारोबारमा चार गुणाले बढेको बताइएको छ।

प्रकाशित: ७ आश्विन २०७४ ०६:३२ शनिबार

सल्यानमा खुद्रा पैसाको अभाव