अर्थ

कुचोको मूल्यमा दोब्बरले कमी

मंगलबारे – मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन्। 

मूल्यमा कमी आएपछि अहिले उनीहरु आफैँले कुचो प्रशोधन गरेर बेच्न थालेका छन्। सामान्यतया बढार्न (फोहर सफा गर्न) प्रयोग गरिने कुचो किसानले आफैँ घरमा बाटेर बिक्रीका लागि लैजान थालेका छन्। 

बजारमा प्रयोगकर्ताले सोझै किन्ने भएकाले किसानले उचित मूल्य पाउने गरेका छन्। तर बजारमा बिक्री गर्दा कम मूल्य पाउने गरेको रोङ गाउँपालिका–६ का दीपक प्रधानले बताए। प्रधानका अनुसार अहिले कुचो झापाको धुलाबारीमा प्रतिकिलो रु ४० मा बिक्री हुने गरेको भए पनि किसानले बाटेर लैजाँदा एउटा कुचोको रु ३० मा पर्छ। एक किलोको छवटा कुचो बनाउन सकिन्छ। गत वर्ष रु १०० प्रतिकिलोसम्ममा बिक्री भएकोे कुचो हाल प्रतिकिलो रु ४० सम्ममा किनबेच भइरहेको छ। 

कुचोलाई बाटेर आकर्षक बनाई भारतीय बजार, झापाका विभिन्न बजार तथा काठमाडौँसम्म पठाउने गरेको देव प्रधान बताउँछन्। जिल्लाका प्रायः सबै स्थानमा रोपिएको अम्रिसो पहिलापहिला घाँसको लागिमात्र प्रयोग हुने भएको भए पनि पछिल्लो समयमा फूलसमेत कुचोको रुपमा बिक्री हुने गरेको छ। 

अम्रिसोलाई घाँसको रुपमा खेती गर्ने गरेका मध्य पहाडको किसानलाई कुचोको मूल्यमा आएको कमीले प्रभाव नपर्ने भए पनि कुचोमा नै आश्रित बनेका इलामका किसान कुचोको मूल्यमा कमी आएपछि निराश बनेका छन्। प्रायः घर बढार्न सरसफाइ र निर्माणमा प्रयोग हुने कुचो स्वदेशमा मात्रै हैन भारत, बंगलादेशलगायत मुलुकमा समेत निर्यात हुने गरेको छ। 

जिल्लाको समाल्बुङ, जिर्मले, इरौँटार, कोल्बुङ, पञ्चकन्या, साकफारा, गोदक, मंगलबारेलगायत गाउँमा कुचो बनाइन्छ। इलाममा गत वर्ष ५१८९.४ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती गरिएको थियो। अम्रिसोबाट कुल ५१ हजार ६०३ मेट्रिक टन कुचो उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ। 

प्रकाशित: ५ आश्विन २०७४ ११:०७ बिहीबार

कुचोको मूल्यमा दोब्बरले कमी